अन्नपूर्ण गाउँपालिकामा सामाजिक विकास र युवाको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
- October 17, 2025
- 468

अन्नपुर्ण, कास्की। अन्नपूर्ण गाउँपालिका, कास्कीमा सामाजिक विकास र रुपान्तरण तथा युवाहरूको वर्तमान र भविष्यको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय क्लब तथा संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रममा पालिकाभित्रका विभिन्न गाउँमा आयोजित मेला महोत्सवहरूलाई तालिकाबद्ध गरि सहज रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। सहभागीहरूले मेला महोत्सव मात्र नभई अन्य सामाजिक गतिविधि, सचेतनामूलक कार्यक्रम र गाउँ–टोल सरसफाइ जस्ता अभियानहरूमा नयाँ युवाहरूलाई संलग्न गराएर सामाजिक भावना जागृत गर्ने आवश्यकतालाई जोड दिएका छन्।
साथै, गाउँ–टोलमा युवा क्लब र आमा समूहहरूको समन्वयमा “गाउँ टोल सुरक्षा सहजीकरण समिति” गठन गर्ने योजना प्रस्तुत गरिएको छ। यस मार्फत समुदायमा सुरक्षा, सहकार्य र सामाजिक उत्तरदायित्व प्रवर्धन गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा नयाँ युवा पुस्तालाई कुलत, लागू औषध तथा अन्य दुर्व्यसनी गतिविधिहरूमा संलग्न हुनबाट रोक्ने सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो। यसले समुदायमा सकारात्मक र जिम्मेवार युवापुस्ताको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरत मान गुरुङका अनुसार, यो कार्यक्रम विशेष रूपमा पालिकामा दर्ता भएका क्लबहरूलाई मात्रै बोलाएर आयोजना गरिएको हो। यसले स्थानीय युवाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिएको र आगामी दिनमा सामाजिक विकासमा उनीहरूको सक्रिय भुमिका सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।
गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता अन्तरक्रिया कार्यक्रमहरू निरन्तर आयोजना गर्दै युवाहरूमाझ सामाजिक चेतना र जिम्मेवारी प्रवर्धन गर्ने योजना बनाएको जनाएको छ।







सम्बन्धित खवर
















