
काठमाडौं । नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु गरिएको छ । रियलमीका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमै लोकप्रिय बनेपछि अब नेपालमा पनि आफ्नो उपस्थितिलाई विस्तार गरेको हो ।
एआई प्लसले नेपालमा चौधरी समूह सिजीलाई आफ्नो आधिकारिक वितरक नियुक्त गरेको छ । कम्पनीले सिजीसँगको सहकार्यलाई “इन्टेलिजेन्ट र भ्यालु–ड्रिभन स्मार्टफोन नेपाली उपभोक्तासम्म पुर्याउने साझा उद्देश्य” का कारण सम्भव भएको बताएको छ ।
एआई प्लसका संस्थापक माधव सेठका अनुसार, “एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो । त्यसैले, एआई प्लसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन्,”उनले भने ।
त्यस्तै, सिजी मोबाइल्सका बिजनेस हेड विनय जोशीले भने, “हाम्रो उद्देश्य सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्याउनु हो । बजारमा स्मार्टफोनका धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो,” उनको भनाइ छ ।
चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्स कन्ज्युमर इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गतको मोबाइल व्यवसायिक इकाइ हो । यसले विश्वभरका लोकप्रिय मोबाइल ब्रान्डहरूको आयात, बिक्री–वितरण र बिक्रीपश्चात सेवा प्रदान गर्दै आएको छ । सिजी मोबाइल्सको बलियो वितरण सञ्जाल र प्रतिस्पर्धी मूल्यका कारण अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाली बजारमा राम्रो स्थान बनाउन सफल भएका छन् । अब सोही शृङ्खलामा एआई प्लस पनि नयाँ स्मार्टफोन ब्रान्डको रूपमा नेपालमा प्रवेश गरेको छ ।
एआई प्लसले पहिलो चरणमा नेपाली बजारका लागि दुई मोडेलका चार भेरियन्ट सार्वजनिक गरेको छ — एआई प्लस पल्स (Ai+ Pulse) एआई प्लस नोभा (Ai+ Nova) यी मोडेलहरूमा ४ जिबी, ६ जिबी र ८ जिबी र्यामका विकल्प उपलब्ध छन् ।
कम्पनीले नेपालमा हालकै अवस्थामा सबैभन्दा किफायती फाइभ जी (5G) स्मार्टफोनका रूपमा एआई प्लस नोभा फाइभ जी प्रस्तुत गरेको छ, जसको मूल्य रु. १३,९९९ निर्धारण गरिएको छ । साथै, ४ जिबी र्याम र ६४ जिबी स्टोरेज भेरियन्टको एआई प्लस नोभा स्मार्टफोन रु. ९,००० भन्दा कम मूल्यमा बजारमा उपलब्ध गराइएको छ । हाल एआई प्लस स्मार्टफोनहरू नेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध भइसकेका छन् ।








