
पोखरा । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेश पोखराले आफ्नो Corporate Social Responsibility (CSR) अन्तर्गत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिँदै कास्कीको रूपा गाउँपालिका–३ पोल्याङस्थित श्री जनता माध्यमिक विद्यालयका सबै विद्यार्थीलाई विद्यालय झोला (स्कुल ब्याग) वितरण गरेको छ।
नेपाल टेलिकम पोखरा व्यापार शाखाका प्रमुख दिनेश मणि लामिछानेका अनुसार, वितरण गरिएका झोलामा टेलिकमको लोगो अंकित गरिएको थियो। उनका भनाइमा, यस कार्यले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह अभिवृद्धि गर्नुका साथै टेलिकमको सामाजिक संवेगलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालयका निर्देशक बसन्त लिङथेपले टेलिकमका सेवा, पहुँच र सामाजिक उत्तरदायित्वका पहलहरूबारे जानकारी दिँदै संस्थाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका विविध कार्यक्रममार्फत समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, रूपा गाउँपालिकाका शिक्षा विज्ञ बुद्धि सागर अधिकारीले नेपाल टेलिकमले राष्ट्रको सञ्चार क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै, ग्रामीण विद्यालयप्रतिको यस प्रकारको सहयोगले शिक्षाको पहुँच र गुणस्तर वृद्धिमा ठोस प्रभाव पार्ने विश्वास व्यक्त गरे।
नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालयका व्यापार शाखा प्रमुख महेन्द्र प्रसाद रिमालले टेलिकमले देशभर उत्कृष्ट सञ्चार सेवा विस्तारमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै भने, “हामीगुणस्तरीय सेवा प्रदान गर्न र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिन सधैं प्रतिबद्ध छौं।”
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल टेलिकमका प्रशासकीय अधिकृत पुस्कर कोईरालाले गरेका थिए।








सम्बन्धित खवर
















