
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जापानको ओत्सुकी नगरसँग पर्यटन, प्रविधि, शिक्षा र सद्भावना आदानप्रदानका विषयमा फलदायी छलफल भएको बताएका छन्।
‘पर्यटकीय राजधानी पोखरा र ओत्सुकीबीच अनुभव आदानप्रदान गर्दै विकास साझेदारी र जनसम्बन्ध विस्तार गर्न सकिने सम्भावना उच्च देखिएको छ,’ प्रमुख आचार्यले भने।
पोखरा जस्तै हिमालको काखमा अवस्थित ओत्सुकी नगरसँगको भेटवार्तामा दुवै पक्षबीच पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरू साटासाट गर्ने विषयमा सहमति भएको आचार्यले जानकारी दिए।
ओत्सुकी नगरका प्रमुख कोबायसीले पोखरा र जापानका पर्वतीय शहरहरूबीचको सहकार्यले पर्यटन र प्रविधि क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे।
‘पोखरा निकै सुन्दर र प्राकृतिक रूपमा हाम्रो नगरसँग मिल्दोजुल्दो छ,’ उनले भने, ‘हामी ज्ञान, सीप र प्रविधि आदानप्रदानका क्षेत्रमा पोखरासँग सहकार्य गर्न इच्छुक छौं।’
ओत्सुकी नगरका प्रमुख कोबायसीले आफ्नै छिमेकी नगर होकोतोका नगर प्रमुखको तर्फबाट, यसअघि भएको पर्वतीय नगर मित्रता सम्झदारीपत्र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे।
यस सम्झदारीअनुसार पोखरा र होकोटोबीच पर्वतीय भूगोल, संस्कृति र इतिहासको सम्मानका आधारमा आपसी हित, विकास साझेदारी र जनसम्बन्ध सुदृढ गर्न दुवै नगर प्रतिबद्ध रहेका छन्।
ओत्सुकी नगरको टोलीमा प्रमुख कोबायसीसँगै सिनियर अफिसर काजुया सुगिमोतो, होकोटो नगर कानुन विभाग प्रमुख हाजीमी ओसिवा, उद्योग तथा पर्यटन विभागका प्रतिनिधि सिन्जी यामादा र नेपाल–जापान फेन्डसिप एसोसिएसनकी अध्यक्ष हिरोमी इसिओका सहभागी थिए।
पोखरा महानगरतर्फबाट प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना र वडा सदस्य पूर्ण न्यौपानेको सहभागिता रहेको थियो।
पोखरा महानगरले हालका वर्षहरूमा अन्तर्राष्ट्रिय सहकार्य र नगरमैत्री सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ। यसअघि चीन, भारत, दक्षिण कोरिया र जापानका विभिन्न नगरहरूसँग पनि शहरी विकास, वातावरणीय व्यवस्थापन र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्यका पहलहरू अघि बढाइएका छन्।











