
पोखरा, कात्तिक २५ । कास्की प्रहरीले जेन–जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।
मिति २०८२ साल भदौ २४ गते कास्की जिल्लाका विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयहरू, निजी घर र पसलहरूमा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको पहिचानका क्रममा प्रहरीले पछिल्ला दिनमा पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये पोखरा महानगरपालिका–१० बुद्धचोकका ५० वर्षीय चन्द्रबहादुर थापा, पोखरा–१० कै ‘खलि’ भनेर चिनिने ४८ वर्षीय हरीबहादुर थापा, सोही महानगर–२६ बुढीबजारका ४० वर्षीय रमेश थापा, पोखरा–९ का ३५ वर्षीय अभिमन्यु पाण्डे र माछापुच्छ्रे गाउँपालिका–३ का २५ वर्षीय सन्तोष परियार रहेका छन्।
उनीहरूलाई आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धानका लागि म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. हरीबहादुर वस्नेतका अनुसार पक्राउ परेकाहरूले आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्ने, लुटपाट तथा प्रहरी कार्यालयमा रहेका हतियार तोडफोड गर्ने जस्ता गैरकानुनी कार्यमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।











