‘ नीतिगत सुधारका लागि नागरिक अभियान’को माग : चिकित्सकले अब कम्पनी होइन, जेनेरिक नाममा औषधी सिफारिस गर्नुपर्छ

पोखरा । ‘नीतिगत सुधारका लागि नागरिक अभियान’ले देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले बिरामीका लागि औषधी सिफारिस गर्दा कम्पनीको नाम होइन, जेनेरिक नाममा औषधी लेख्ने व्यवस्था तत्काल लागू गर्न माग गरेको छ।
अभियानका संयोजक गणेशबहादुर थापा नेतृत्वको टोलीले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह–प्रा.डा. प्रेमराज पगेनीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।
मागपत्रमा भनिएको छ, चिकित्सकहरूले हालसम्म कानुनी प्रावधान विपरीत ट्रेड नेम (कम्पनीको नाम) मा औषधी सिफारिस गर्दै आएका छन्, जसले जनताको मौलिक स्वास्थ्य अधिकारमै आघात पुर्याएको छ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा २९, मन्त्रिस्तरीय निर्णयबाट गठित जेनेरिक औषधी सुझाव समिति, त्रिवि शिक्षण अस्पतालको परिपत्र र नेपाल मेडिकल काउन्सिलको आचारसंहिता सबैले चिकित्सकले औषधीको जेनेरिक नाम लेख्नैपर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ।
तर यी कानुनी प्रावधानविपरीत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकहरूले विरामीलाई बुझ्ने गरी जेनेरिक नाम नलेखी कम्पनीको ट्रेड नेम लेख्ने गरेको आरोप लगाइएको छ।
मागपत्रमा भनिएको छ —
“यसरी कम्पनीको नाममा औषधी सिफारिस गर्दा निम्न तथा मध्यम वर्गका नागरिकको स्वास्थ्य अधिकार हनन भएको छ। सरकारी अस्पतालमा सस्तो वा निःशुल्क पाउनुपर्ने औषधीको सट्टा महँगा औषधी किन्न बाध्य हुनुपरेको छ।”
अभियानले चिकित्सकहरू औषधी उत्पादक कम्पनी वा उनका प्रतिनिधिबाट आर्थिक प्रलोभनमा परेर महँगा औषधी मात्र सिफारिस गर्ने गरेको आरोपसमेत लगाएको छ।
समान गुणस्तरका सस्ता औषधी बजारमा उपलब्ध हुँदाहुँदै पनि आर्थिक लाभका लागि महँगा औषधी सिफारिस गर्ने प्रवृत्तिले स्वास्थ्य बीमा कार्यक्रममै नकारात्मक असर पारेको अभियानको दाबी छ।
बीमित विरामीहरूलाई अस्पतालको फार्मेसीमा औषधी नपाई निजी फार्मेसीमा गएर महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको अभियानले जनाएको छ।
अभियानका मागहरू :
- चिकित्सकले जेनेरिक नाममा मात्र औषधी सिफारिस गर्ने व्यवस्था लागू होस्।
- प्रतिष्ठानका फार्मेसीमा बिक्री हुने औषधीहरूको खुद्रा मूल्य सूची सर्वसाधारणले सहजै हेर्न सक्ने गरी सार्वजनिक गरियोस्।
- औषधी सिफारिस प्रणालीलाई पारदर्शी र निष्पक्ष बनाउन निरन्तर निगरानी र सुधार अभियान चलाइयोस्।
सोही अवसरमा निर्देशक सह–प्रा.डा. प्रेमराज पगेनीले प्रतिष्ठानले सेवा प्रवाह, शैक्षिक गतिविधि र अनुसन्धानका पाटोमा सन्तुलित रूपमा अघि बढिरहेको बताउँदै, अभियानले उठाएका विषयहरूमा गम्भीर भएर काम गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “हामीले औषधी टेण्डर प्रक्रियामार्फत खरिद गर्छौं। औषधी GMP सर्टिफाइड र DDA रजिष्ट्रर भएको हुनुपर्छ।चिकित्सकहरूलाई पनि धेरैअघि नै जेनेरिक नाममै औषधी लेख्न भनिएको छ।”








सम्बन्धित खवर
















