
पोखरा, कात्तिक २६। गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङकी ३० वर्षीया रिनछेन पाल्मो गुरुङले सात महिनामै (प्रि–टर्म) जन्म दिएकी अत्यन्त कम तौल (१००० ग्राम) भएको शिशुलाई गण्डकी प्रदेश सरकारको पहलमा हेलिकप्टरमार्फत उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ।
चुम्लिङस्थित स्वास्थ्य चौकीमा अक्सिजन, न्यानो पार्ने मेसिनलगायत शिशुका लागि आवश्यक सुविधा नहुँदा नवजात शिशुको ज्यान जोखिममा परेको थियो। गम्भीर अवस्थाको जानकारी पाएपछि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तत्काल हवाई उद्धारको स्वीकृति दिई पोखरा ल्याएको हो ।
मन्त्रालयले मंगलवार सिम्रिक एयर प्रा.लि., काठमाडौंलाई पत्रमार्फत हेलिकप्टर उद्धारका लागि अनुमति दिएको थियो। उद्धार कार्य चुमनुव्री गाउँपालिका, स्थानीय स्वास्थ्यकर्मी, जिल्ला प्रशासन कार्यालय गोरखा, प्रदेश जनस्वास्थ्य निर्देशनालय, गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सिम्रिक हेली र धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख बालरोग विशेषज्ञ डा. किरण तिवारी लगायतको समन्वयमा सम्पन्न गरिएको हो।
स्वास्थ्य मन्त्रालयका सचिव डा. वुश्व बन्धु बगालेका अनुसार उद्धारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारको तोकिएको प्रक्रियाअनुसार व्यवस्थापन गरिनेछ।
प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गण्डकी प्रदेश सरकारले जारी गरेको “जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि, २०८०” अनुसार अब गर्भवती र सुत्केरी महिलाका साथै २८ दिनभित्रका नवजात शिशुको पनि हवाई उद्धार गर्न सकिने व्यवस्था मिलाइएको बताए।
स्वास्थ्य मन्त्रालयका सम्पर्क अधिकृत बुद्धिसागर अधिकारीका अनुसार उक्त शिशुलाई हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको एनआइसियुमा राखी उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सुधारोन्मुख छ।








सम्बन्धित खवर
















