पोखरामा काँग्रेसको दवाबमूलक भेला: विशेष महाधिवेशनको विरोध, नियमित महाधिवेशनको पक्षमा जोड

पोखरा । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे तीव्र बहस चलिरहेको बेला पोखरामा नियमित महाधिवेशनको पक्षमा रहेका नेता–कार्यकर्ताहरुको दवाबमूलक भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति तथा गण्डकी प्रदेशसभा सदस्य जीत शेरचनले विशेष महाधिवेशनले पार्टीभित्रको गुटबन्दीलाई तल्लो तहसम्म संस्थागत गर्ने खतरा रहेकोले त्यसको विरोध गरिएको बताए । उनले पार्टीको नेतृत्व मात्र नभई नीति र संरचनामा समेत सुधार गरी आमूल परिवर्तन गर्न आवश्यक भएकाले अहिले नियमित महाधिवेशन अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले गरेका थिए । उनले पार्टीलाई विभाजन हुन नदिन, विशेष महाधिवेशनको नाममा गुटबन्दी संस्थागत हुन नदिन र समयमै नियमित महाधिवेशन गर्न दवाब दिनुको उद्देश्यले भेला आयोजना गरिएको बताए ।
भेलामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश सांसद सरस्वती गुरुङ, नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डे, महासमिति सदस्यहरू यामबहादुर मल्ल, पुष्पकुमार शाही, लिला बहादुर रनपाल, पदमबहादुर खत्री लगायतका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए ।
यसैगरी पर्वतका कांग्रेस नेता इन्दु शर्मा पौडेल, तरुण दलका केन्द्रीय सदस्य तिर्थ गौतम, नेविसंघका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत र आदर्श मल्ल, महाधिवेशन प्रतिनिधि इन्दिरा निरौला, कांग्रेस नेता धर्मराज अर्याल, कास्की क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति निर्मल कर्माचार्य, पार्टीका गण्डकी प्रदेश सदस्य आसिक गुरुङ, स्याङ्जाका नरेन्द्र शर्मा लगायतले पनि मन्तव्य राखेका थिए ।
भेलाका सहभागी अधिकांश नेता–कार्यकर्ताले नियमित महाधिवेशनको पक्षमा समर्थन जनाए पनि महाधिवेशनको मिति भने अन्योलमै रहेको बताइएको छ ।
भेलाले पार्टीको विधानअनुसार क्रियाशील सदस्यताको नवीकरण, नयाँ सदस्यता वितरण, युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गरी वडा तहदेखि केन्द्रीय तहसम्म नियमित महाधिवेशन यथाशीघ्र सम्पन्न गर्न केन्द्रीय समितिसमक्ष आग्रह गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको भेलाको अध्यक्षता गरेका उपसभापति श्रेष्ठले जानकारी दिए ।
भेलाका वक्ताहरूले संसदीय निर्वाचन र महाधिवेशन एकैपटक सम्भव नहुने भन्दै, यदि फागुन २१ गते निर्वाचन नहुने अवस्था बनेमा माघ–फागुनभित्र महाधिवेशन गर्नुपर्ने र निर्वाचन हुने भए वैशाखमा सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए ।
उनले भने, “केन्द्रीय समितिले चाँडो निर्णय नगरे पार्टीका सबै तहका समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने अवस्था आउन सक्छ । जेन–जी पुस्ताले उठाएको पार्टीभित्रको रूपान्तरणको भावना अनुसार पनि तल्लो तहबाट अधिवेशन आवश्यक छ ।”








सम्बन्धित खवर
















