
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल डिष्ट्रिक्ट गभर्नर एडभाइजरी समितिको दोस्रो बैठक पोखरामा सम्पन्न भएको छ। एरिया १३, रिजन २८, जोन ६३ अन्तर्गतका तीनवटा क्लबहरूको संयुक्त बैठक विहीबार पोखरा ट्रेड मलस्थित क्लासिक चुल्होमा सम्पन्न भएको हो।
जोन ६३ को आयोजनामा भएको उक्त बैठकमा लायन्स क्लब अफ पोखरा गृहलक्ष्मी, लायन्स क्लब अफ पोखरा फर्निसिङ र लायन्स क्लब अफ पोखरा महाशीलाका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा पोखरा गृहलक्ष्मीकी अध्यक्ष अञ्जना गोशली, महाशीलाका अध्यक्ष सागर थापा, गृहलक्ष्मीकी सचिव शोभा बास्तोला बराल र कोषाध्यक्ष अरुणा लामाले हालसम्मका कार्य प्रगतिबारे विवरण प्रस्तुत गर्दै आगामी योजना प्रस्तुत गरेका थिए।
बैठक जोन चेयरपर्सन रेनुका गिरीको अध्यक्षतामा र डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट पिआरओ इन–चिफ ऋषि गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर सुरेन्द्रमानसिं भण्डारी र टंकराज अधिकारी, जिईटी तथा जिएमटी को–अर्डिनेटर भावना बसेल र नगेन्द्रराज बराल, एरिया को–अर्डिनेटर सूर्य चापागाई, रिजन चेयरपर्सन मदन केसी, र डिष्ट्रिक्ट चेयरपर्सनद्वय दुर्गा कुमारी क्षेत्री थापा र विष्णु अधिकारीलगायतका पदाधिकारीहरूको उपस्थिति थियो।
मुख्य अतिथि गिरीले लायन्स क्लब विशुद्ध सेवा भावले स्थापन भएको संस्था भएको उल्लेख गर्दै क्लबहरूलाई मानवीय सेवाका उदाहरणीय कार्यक्रममार्फत समाजमा प्रभाव पार्न आग्रह गरे। उनले लायन्सको लक्ष्य ‘We Serve’ लाई जीवन्त बनाउन सामूहिक प्रयास र समुदायमुखी कार्यको आवश्यकता औंल्याए।
कार्यक्रममा सहभागी डिष्ट्रिक्ट पदाधिकारीहरूले क्लबहरूले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै तीनवटै क्लबको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।





















