3Shares

पोखरा – गरिमा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बिहीबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाले शेयरधनीका लागि १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिमा पारित गरेको छ। यसअनुसार, बैंकले ६% बोनस शेयर र ४.५३% नगद लाभांश (बोनससम्बन्धी करसहित) प्रदान गर्नेछ।

बैंकका अध्यक्ष दिलिप प्रताप खाणको अध्यक्षतामा सम्पन्न साधारणसभाले २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटी परिवर्तन विवरण लगायत सबै वित्तीय विवरणहरू पारित गरेको बैंकले जनाएको छ। त्यसैगरी, आगामी आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदित गरिएको छ।

साधारणसभाले बैंकको अधिकृत पूँजी बढाएर रु. ६ अर्ब १० करोड पुर्‍याउने, प्रधान कार्यालय स्थानान्तरण गर्ने र बैंकको लोगो तथा छाप परिमार्जन गर्ने तीनवटा विशेष प्रस्ताव पनि पारित गरेको छ। यसअनुसार बैंकको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटबाट काठमाडौँ–३, बालुवाटारस्थित आफ्नै नयाँ भवनमा स्थानान्तरण हुनेछ।

वर्तमानमा बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेको छ। साधारणसभाले पारित गरेको ६% बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्ने छ।

बैंकले देशभर १२६ वटा शाखा कार्यालय र ५१ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय बैंकले नवीनतम डिजिटल बैंकिङ सेवा, मोबाइल बैंकिङ, अनलाइन भुक्तानी र सुरक्षित वित्तीय कारोबारमा पनि आफूलाई प्रभावकारी रूपमा स्थापित गरेको छ। बैंकले सरल, सुरक्षित र ग्राहकमैत्री सेवा प्रदान गर्न मुख्य प्राथमिकता दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद आचार्य जनाए ।

साधारणसभाले पूँजी संरचना विस्तार, व्यवस्थापन सुधार, ब्रान्ड परिवर्तन र डिजिटल क्षमताको विस्तारमार्फत बैंकलाई प्रतिस्पर्धी र सुदृढ वित्तीय संस्थाका रूपमा अघि बढाउन आवश्यक निर्देशन र उत्प्रेरणा दिएको बताइएको छ।

कार्यक्रममा निवर्तमान अध्यक्ष श्याम प्रसाद बस्याल, पूर्व संचालक डा. आनन्द श्रेष्ठ, संस्थापक अध्यक्ष जलेश्वर पाण्डे, संचालक आयुष्मा कोइराला, पूर्व मन्त्री मेखलाल श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए। कम्पनी सचीव अनिल रेग्मीको संचालनमा सभा सम्पन्न भएको थियो।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected