22Shares

पोखरा । नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्रसंघले औपचारिक मान्यता दिएको यो दिवसमा यस वर्ष पनि मधुमेहबारे सचेतना फैलाउन स्थानीय तहमा सक्रियता देखियो ।

शुक्रबार सूर्यचन्द्र विकास समाज, पोखरा–५ ले युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेको हो । शिविरमा २ सय ५ जनाको मधुमेह तथा युरिक एसिडसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिएको आयोजक संस्थाले जनाएको छ ।

शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह लाग्ने कारण, जोखिम, पूर्वसावधानी तथा उपचार प्रक्रियाबारे विस्तृत जानकारी दिए ।

“सकेसम्म घरकै सन्तुलित खाना खानुहोस्, काम र खानाको अनुपात मिलाउनुहोस्, अनावश्यक तनाव कम गर्नुहोस्, जीवनशैली सुधार्नुहोस् र नियमित रूपमा स्वास्थ्य जाँच गराउनुहोस्,” उनले सुझाए ।

डा. अधिकारीका अनुसार मधुमेहको तात्कालिक असर नदेखिए पनि दीर्घकालमा विभिन्न गम्भीर जटिलता उत्पन्न हुन्छन् ।

“मधुमेह लागिसकेपछि बेवास्ता गरे ५ वर्षसम्म केही नदेखिन सक्छ,” उनले भने, “तर त्यसपछि मिर्गौलामा असर, थकान, अत्यधिक तिर्खा जस्ता समस्या देखिन थाल्छन् । ५–१० वर्षमा आँखामा असर, रोग प्रतिरोधात्मक शक्ति कमजोर हुनेजस्ता समस्या देखिन सक्छन् । १० वर्षभन्दा बढी उपचार नपाए शरीरका सबै अंग प्रभावित हुन सक्छन् ।”

उनले हाल मिर्गौला डायलाइसिस गराइरहेकाहरू मध्ये ७० प्रतिशतभन्दा बढी मधुमेह भए पनि समयमै सचेत नभएका बिरामी रहेको बताए । मधुमेह समाज र राष्ट्रका लागि बढ्दो बोझ बन्दै गएको उल्लेख गर्दै उनले सामाजिक, सरकारी, स्वास्थ्यकर्मी र आमनागरिकको एकीकृत प्रयास आवश्यक रहेको धारणा राखे ।

यस अवसरमा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ्य सरकारको मुख्य जिम्मेवारी भएको बताए । जनस्तरबाट आयोजना हुने यस्ता स्वास्थ्य सचेतना कार्यक्रमले स्थानीय तहको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले गण्डकी प्रदेशकै पहिलो तथा एकमात्र ISO प्रमाणित रेफरेन्स ल्याबका रूपमा सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको बताए । उनले पोखरामा विश्वस्तरको गुणस्तरीय सेवा सुनिश्चित गर्दै १८ स्थानबाट सेवा प्रदान गरिरहेको जानकारी दिए । विभिन्न संघ–संस्थासँगको सहकार्यमा नियमित रूपमा शिविर सञ्चालन गर्दै आएकोमा शुक्रबारको शिविर २ सय ११ औँ भएको उनले बताए ।

कार्यक्रम सूर्यचन्द्र विकास समाजकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बाराही मावि व्यवस्थापन समिति अध्यक्ष वसन्तराज कोइराला, उपाध्यक्ष हेमराज भण्डारी, सचिव दीपक बराल लगायतले बोलेका थिए ।

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected