पोखरामा उद्योग वाणिज्य संघको ३४ औं मेला र क्यान इन्फोटेक–२०८२ मा मणिपाल अस्पताल टाइटल पार्टनर

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक–२०८२ का लागि नेपाल मणिपाल शिक्षण अस्पताल औपचारिक रूपमा टाइटल पार्टनर बनेको छ। आगामी मंसिर १७ देखि २१ गतेसम्म पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा–२०८२’ को तयारी तीव्र बनाइएको छ।
मेलाको टाइटल साझेदारीसम्बन्धी समझदारीपत्रमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलबीच हस्ताक्षर भएको हो। यससँगै मेलाको औपचारिकता र स्तर वृद्धि भएको आयोजक संघले जनाएको छ।

संघका पूर्वअध्यक्ष अशोक पालिखेका अनुसार पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने दीर्घ रणनीतिसहित संघले २०४० सालमै अभियान थालेको थियो। सो अवधारणाअनुसार शैक्षिक संस्था स्थापनादेखि पर्यटन विकास, तालिम तथा गोष्ठी आयोजना र स्वास्थ्य संस्थाको विस्तारसम्म संघले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए।
उनका अनुसार जर्मन साझेदार एचडब्लुके माइञ्ज ले समेत पोखराको दीर्घकालीन विकास अभियानमा उल्लेख्य सहयोग पुर्याएको थियो। पालिखेले बाराहीघाटदेखि उत्तरतर्फ पैदलमार्ग निर्माण तथा आवश्यक जग्गा अधिग्रहणका योजनासमेत तयार भए पनि सरकारी संयन्त्रबाट अपेक्षित साथ नपाइँदा परियोजना अघि बढ्न नसकेको स्मरण गरे।
त्यस्तै, संघका अर्का पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार पृथ्वीनारायण कलेज, पोखरा विश्वविद्यालय, पोखरा बहुमुखी क्याम्पससहितका धेरैजसो शैक्षिक संस्थाको स्थापना संघकै पहल र प्रयासमा सम्भव भएको हो। उनले उद्योग–व्यापार मेला तथा क्यान इन्फोटेकजस्ता कार्यक्रमले पोखराको आर्थिक, शैक्षिक र प्रविधिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए।
आयोजकका अनुसार यस वर्षको मेलामा उद्योग, कृषि, पर्यटन, स्वास्थ्य तथा सूचना–प्रविधिसम्बन्धी प्रदर्शनी, प्रविधि नवप्रवर्तन, स्टार्टअप परिचय, स्वास्थ्य परामर्शलगायत विभिन्न विषयवस्तु समावेश हुने छन्। मेलामा व्यवसाय, नवप्रवर्तन र प्रविधिलाई एकै प्लेटफर्ममा जोड्ने लक्ष्य राखिएको छ।





सम्बन्धित खवर
















