44Shares

पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ मा अवस्थित मुल्डे भ्यू–पार्क पछिल्लो समय हिमाल हेर्ने सबैभन्दा उत्कृष्ट गतन्व्यका रूपमा विकास हुँदै गएको छ । मूल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिको अगुवाई तथा अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित विकास कार्यक्रमबाट आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापन सुरु भएपछि यो स्थान पर्यटकहरूको आकर्षक गन्तव्य बन्न थालेको हो ।

स्थानीय राजमान गुरुङको नेतृत्वमा गठन गरिएको नौ सदस्यीय समितिले दोबाटोबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको भ्यू–पार्कलाई पर्यटनमैत्री गन्त्व्यको रुपमा विकास गराएका हुन् । गुरुङका अनुसार भ्यू–टावर, पिङ, ढुङ्गे सिँढी, रेलिङ, शौचालय तथा अन्य संरचनाले अहिलेको मुल्डेलाई व्यवस्थित स्वरूप प्रदान गरेको छ ।

घान्द्रुक नजिकैको चुइले गाउँमा जन्मिएका राजमान गुरुङ सानै उमेरदेखि मुल्डेको सौन्दर्यसँग परिचित थिए । “बुबासँग गोठ लिँदै मुल्डे पुग्दा देखिने दृश्यले मलाई मोहित बनायो,” गुरुङ सम्झन्छन् ।

यही आकर्षणले उनलाई २०५८ सालमै दोबाटोमा होटल खोल्दै मुल्डे पदमार्ग प्रवद्र्धन गर्ने सोचमा प्रेरित ग¥यो । केही चुनौतीका बीच विदेश रोजगारी गएर पाँच वर्षपछि फर्किएका उनले पुनः मुल्डेलाई पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउने अभियान थालनी गरे । अहिले उनी दोबाटोमा ‘माउन्ट लक्की होटल’ सञ्चालन गर्छन्।

उनले होटल सञ्चालन थालेपछि गाउँपालिकाले टाँडापानी, दोबाटोदेखि हिडेल लेक हुँदै छाम्रोङ जाने नयाँ पदमार्गको विकासका लागि आवश्यक बजेटको तर्जुमा गरी । अन्नपूर्ण गाउँपालिकाका संस्थापक अध्यक्ष युवराज कुँवरको पालामा स्थानीय समाजसेवी नजरमान गुरुङको संयोजकत्व एक अध्ययन समिति गठन गरेको थियो । त्यही अध्ययन समितिको प्रतिवेदन अनुसार हाल त्यस क्षेत्रमा पूर्वाधार विकास र होटल स्थापनाको कार्य अघि बढेको अध्ययन समितिका सदस्य ललित गुरुङले जानकारी दिए ।

उनका अनुसार अन्नपूर्ण आधार शिविर समेतकका क्षेत्रमा होटलहरुको स्तरोन्नति र पूर्वाधार विकास गर्न अध्ययन समितिले गाउँपालिकालाई रायसहितको सुझाव दिएको थियो । सोही सुझाव बमोजिम मुल्डेदेखि हिडेन लेकसम्म १९ होटलका लागि स्वीकृती दिइएकोमा हालसम्म १० वटा होटल निर्माण भइसकेको र ९ वटा निर्माणको चरणमा रहेको मूल्डे भ्यू–पार्क तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजमानले जानकारी दिए ।

३,६३७ मिटर उचाइमा रहेको मुल्डे भ्यू–पार्कबाट गुर्जा, धौलागिरी, जिर्वाङ, टुकुचे पिक, धम्पुस पिक, निलगिरी (दक्षिण–उत्तर), अन्नपूर्ण–१, अन्नपूर्ण साउथ, हिउँचुली, अन्नपूर्ण–३, गन्धर्वचुली, माछापुच्छ्रे, अन्नपूर्ण–२, मार्दी, लमजुङ, मियालचुली, बौद्ध, गणेश र मनास्लु लगायतका हिमालहरू एकै स्थानबाट अवलोकन गर्न सकिन्छ।

थकाउने पहाडी यात्रा, चिसो हावा र लुकामारी खेल्ने मौसमबीच देखिने यो मनोरम दृष्यले पर्यटकको सम्पूर्ण थकान हराउँछ। हिमाल नजिकबाट हेर्ने इच्छा राख्नेका लागि मुल्डे भ्यू–पार्क जीवनकै अविस्मरणीय अनुभव बन्नसक्ने स्थानीयको विश्वास छ।

समितिकी निमित्त कोषाध्यक्ष मीना गुरुङका अनुसार मुल्डे भ्यू–पार्क “एकैपटक दर्जनौँ हिमाल हेर्न सकिने सर्वोत्तम स्थल” भए पनि अझै पर्याप्त प्रचार–प्रसार भएको छैन। “अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ, डिजिटल प्रवद्र्धन, मिडिया टुर र ट्राभल ब्लगरमार्फत प्रचार गर्न सके मुल्डे विश्वस्तरको गन्तव्य बन्न सक्छ,” उनले भनिन् ।

मुल्डे भ्यू–पार्कबाट हिमाल अवलोकनपछि पर्यटकहरूलाई आकर्षित गर्ने अर्को प्रमुख स्थान हो—हिडन लेक । ४,२०० मिटर उचाइमा रहेको यो विशाल फाँट चार घण्टाको पदयात्राबाट पुगिन्छ। दोबाटोबाट करिब ८ किलोमिटर दूरीमा रहेको हिडन लेकको पदमार्गमा मनोरम दृश्यहरूले यात्राको थकान बिर्साइदिन्छ ।

सहसचिव रामकाजी गुरुङका अनुसार भिरालो र साँघुरा स्थानहरूमा रेलिङको व्यवस्था गरिएको छ, जसले पर्यटकको यात्रालाई सुरक्षित बनाएको छ।

हिडन भ्यालीमा रहेका चौरी, भेडा र घोडाका बथान, विशाल फाँट र मौलिक प्राकृतिक दृश्यले पर्यटकलाई अद्वितीय शान्तिको अनुभूति दिन्छ। यहाँ रहेको ‘त्रिवेणी ताल’ नजिकैको त्रिवेणीदेवी मन्दिरमा हरेक जनैपूर्णिमामा मेला लाग्ने परम्परा छ।

मुल्डे भ्यू–पार्क पुग्नका लागि पोखरा हुँदै करिब ५८ किमी यात्रा गर्नुपर्छ। पोखराको बागलुङ बसपार्कबाट घान्द्रुकका लागि जीप सुविधा उपलब्ध छ।घान्द्रुकमा मात्र करिब १०० भन्दा बढी होटल तथा लजहरू रहेका छन् ।
घान्द्रुक–मुल्डे पदमार्गमा कोर्मोडाँडामा ५, मेलाँचेमा १, चुइलेमा ६, सिप्रुङमा १ र टाडापानीमा १० लज÷होटल भेटिन्छन् ।

भैँसेखर्क, मेसार र इसारू हुँदै दोबाटो पुगिन्छ, जहाँ ३ होटल छन्। दोबाटोबाट करिब आधा घण्टाको पैदल यात्रापछि मुल्डे भ्यू–पार्क पुगिन्छ ।

यहाँबाट खोप्रा, त्रिवेणी ताल (हिडन लेक), घोरेपानी–पुनहिल, अन्नपूर्ण आधारशिविर लगायतका लोकप्रिय ट्रेक रुटतर्फ यात्रा गर्न सकिन्छ। मुल्डेपछि पौडे (हिडन भ्याली) पुग्दा तीनवटा होटलमा सहज बसाइको व्यवस्था छ।

44Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected