
पोखरा । नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बीइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय सचिव एमबी आस्थाले बुधबार पोखरामा आयोजित कार्यक्रममा गुरुङलाई सम्मान प्रदान गरेका हुन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा आयोजित कार्यक्रममा पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङले पुरस्कार स्थापित गर्ने उद्देश्य र पत्रकारितामा युवाको भूमिकाबारे प्रकाश पारेका थिए ।
गुरुङले २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता तथा हिमचुली एफएममा प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा आफ्नो करियर सुरु गरेका थिए । त्यसयता उनी एफएम रेडियो, अनलाइन तथा प्रिन्ट मिडियामा सक्रिय रहँदै निरन्तर पत्रकारिता गर्दै आएका छन् । हाल गुरुङ समाधान दैनिक, एबीसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) सँग आबद्ध छन् ।











