पोखरा पिस सिटीको १४औँ स्थापना दिवस : गुरुकुलका बटुकहरूलाई न्यानो कपडाद्वारा सेवा–उत्सव
- November 28, 2025
- 1953

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५–आई, नेपालअन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो १४औँ स्थापना दिवस सेवा–समर्पणसहित मनाएको छ। २८ नोभेम्बर २०१२ मा चार्टर प्राप्त गरेको दिनको स्मरणमा क्लबले पोखरा महानगरपालिका–३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर, गुरुकुल संस्कृत विद्यालयमा रहेका बटुकहरूलाई न्यानो कपडा वितरण गर्दै वार्षिकोत्सव मनायो।
क्लबका अध्यक्ष ज्ञानेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, पूर्व अध्यक्षहरू टंकराज अधिकारी, जिवन ढुंगाना, युवराज खनाल, प्रथम उपाध्यक्ष रवि कुमार श्रेष्ठ, सचिव यम बहादुर पनेरू, कोषाध्यक्ष शैलेश रायमाझीसहित पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना दिँदै संस्थापक अध्यक्ष ढुंगानाले क्लबलाई विगतदेखि वर्तमानसम्म सुदृढ, सक्षम र प्रभावशाली बनाउन योगदान पुर्याउने सबै सदस्यप्रति सम्मान व्यक्त गर्दै सेवाभाव निरन्तर उज्यालो बन्ने कामना गरे।
त्यस्तै पूर्व अध्यक्ष टंकराज अधिकारीले “हामी सेवा गर्छौं” भन्ने मूल आदर्श र “जहाँ आवश्यकता त्यहीँ लायन्स” भन्ने लायनिज्मको भावनाले नै क्लबको यात्रालाई उचाइसम्म पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि यही प्रेरणा कायम रहने विश्वास व्यक्त गरे।
गुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले दान–दक्षिणाबाट सञ्चालित विद्यालयका लागि प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा राखे। विद्यालयका सल्लाहकार तथा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख बासुदेव पौडेलले विद्यालय सञ्चालनका चुनौतीबारे आफ्ना धारणा राखे।
यसैगरी पूर्व अध्यक्षद्वय जिवन ढुंगाना र युवराज खनालले सेवायात्राका सहयात्री सबै लायन्स लिडर, सहयोगी संघ–संस्था तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे।
क्लबका प्रथम उपाध्यक्ष श्रेष्ठ, सचिव पनेरू र कोषाध्यक्ष रायमाझीले यस वर्ष क्लबलाई नेपाली लायनिज्मको उत्कृष्ट नमुना बनाउने जिम्मेवारीप्रति आफूहरू सचेत र प्रतिबद्ध रहेको बताए।
अध्यक्ष थापाले नयाँ नेतृत्वको ऊर्जा, नवीन सोच र प्रभावकारी सेवायात्राले क्लबलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गर्दै समर्पित सेवाभाव, एकता र सकारात्मक ऊर्जा नै पिस सिटी क्लबको पहिचान रहेको बताए।










