दाँई महोत्सवको दोस्रो संस्करण: उत्कृष्ट धान उत्पादक कृषकलाई पोखरा महानगरको सम्मान
- November 30, 2025
- 1584

पोखरा । पोखरा महानगरपालिका–१९, चुरुङ्गामा परम्परागत कृषि प्रणालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दाँई महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। धान झारेपछि गोरुको सहायताले पराल माड्ने परम्परागत प्रक्रिया—दाँई—लाई जीवित राख्दै कृषकहरूको उत्साह अभिवृद्धि गर्ने लक्ष्यका साथ महोत्सव मनाइएको हो।
परम्परागत तरिकाले कुन्यू लगाइएको पराल खलामा बिछ्याएर त्यसैमा गोरुलाई गोलाकार घुमाइने दाँई प्रचलन कृषकहरूका लागि श्रम, संस्कृति र समुदायिक ऐक्यबद्धताको प्रतीक मानिन्छ। यही मौलिक परम्परालाई जगेर्ना गर्दै महोत्सवलाई पोखरा महानगरपालिकासहित विभिन्न निकायहरूको सहकार्यमा आयोजना गरिएको हो।

महोत्सवकै अवसरमा यस वर्ष उच्च धान उत्पादन गर्ने कृषकहरूलाई पोखरा महानगरले विशेष सम्मान प्रदान गरेको छ। ५ सय मुरी धान उत्पादन गर्ने पोखरा–१९ का फवेन्द्र प्रसाद गुरुङलाई रु. १० हजार, १ सय मुरी उत्पादन गर्ने पोखरा–१३ का मिलन अधिकारीलाई रु. ७ हजार, र ९८ मुरी धान उत्पादन गर्ने पोखरा–२३ का बालकृष्ण भण्डारीलाई रु. ५ हजार राशिको पुरस्कारद्वारा सम्मानित गरिएको हो । त्यसैगरी गोरु पालक कृषक जीवन बास्तोलालाई रु. ६ हजार प्रदान गरिएको छ।
धान चुट्ने प्रतियोगितामा श्याम भुजेल प्रथम, जीवनाथ सुवेदी द्वितीय, र विष्णु प्रसाद पौडेल तृतीय भई क्रमशः रु. ३ हजार, २ हजार र १ हजार प्राप्त गरे।
परालको भारी बाँध्ने प्रतियोगितामा अग्निधर गौतम–भीम विक, नवीन–अभिषेक बास्तोला, र कुलबहादुर भुजेल–तारानाथ गौतम प्रथम, द्वितीय र तृतीय घोषित भए।

त्यस्तै, गुन्द्री बुन्ने प्रतियोगितामा लक्ष्मी देवकोटा–लक्ष्मी बास्तोला, सिता गौतम–विष्णु गौतम, तथा लक्ष्मी अधिकारी–अञ्जना अधिकारी जोडीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे।
आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरले स्थानीय पहिचानका रूपमा रहेका जेठोबुढो लगायत रैथाने धान जातहरूको ब्राण्डिङ गर्दै आएको छ। रैथाने धान संरक्षणका लागि बिउ र मलमा अनुदान प्रदान गर्ने कार्यक्रम पनि निरन्तर अघि बढाइरहेको उनले जानकारी दिए।
दाँई महोत्सव पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा चुरुङ्गा टोल विकास संस्थाको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको हो।











