4Shares

वालिङ, स्याङ्जा, १७ मंसिर । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा पहिलो पटक आयोजना गरिएको ‘वालिङ सडक खाना महोत्सव’ सुरु भएको छ। वालिङ खेलमैदानदेखि सुर्कौँदी पुलसम्म १९ गतेसम्म संचालन हुने तीनदिने महोत्सवको आयोजना वालिङ नगरपालिकाले गरेको हो।

मौलिक खानालाई संरक्षण, प्रवर्द्धन र बजारसँग जोड्ने उद्देश्यसहित महोत्सवको ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय वृद्धि हाम्रो चाहाना’ नाराका साथ उद्घाटन गरिएको हो। महोत्सवले स्थानीय खानाको दस्ताबेजीकरण, सांस्कृतिक विविधताको प्रचारप्रसार तथा पर्यटन ब्रान्डिङमा टेवा पुग्ने अपेक्षा राखिएको छ।

महोत्सवमा २५ वटा स्टल रहेका छन् जसमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री लगायत समुदायका मौलिक परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिएको छ। जातीय तथा परम्परागत नृत्य, भेषभूषा, लोकसंगीत, रितिरिवाज तथा जीवनशैली एकै स्थानमा हेर्न सकिने व्यवस्था गरिएको छ।

आँधीखोले सभ्यता, स्थानीय इतिहास र सांस्कृतिक पहिचानलाई समेटेर गरिएको यस महोत्सवमा स्थानीय चुलोचौकाको स्वाददेखि आधुनिक परिकारसम्म सबैको अनुभव लिन सकिने आयोजकको भनाइ छ। महोत्सव सफल बनाउन नगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको वालिङ नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।

स्थानीय कृषकलाई निशुल्क स्टल प्रदान गरिएको छ, जहाँ फलफूल, तरकारी, बीउविजन, कृषि प्रविधि तथा नवीन उद्यमको प्रदर्शनी गरिएको छ। राष्ट्रियस्तरका कलाकारका प्रस्तुति तथा नगरभित्रका प्रतिभा प्रदर्शन पनि महोत्सवको आकर्षण बनेका छन्।

महोत्सव उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले यस आयोजनाले पर्यटन आवागमन वृद्धि, स्थानीय परिकारको बजार विस्तार र होटल व्यवसायको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे। स्थानीय कलाकार, परिकार र उत्पादनलाई विशेष प्राथमिकता दिएकोमा उनी विशेष प्रसन्न देखिन्थे।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected