नयाँबजारमा औद्योगिक व्यापार मेला सुरू : ‘नेपालमा केही हुन्न’ भन्ने भ्रम चिर्न निजी क्षेत्र दृढ
- December 3, 2025
- 504

पोखरा, १७ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ‘नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२, पोखरा’ बुधबारदेखि नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरू भएको छ। पाँच दिनसम्म चल्ने मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे।
उद्घाटन समारोहमा अध्यक्ष ढकालले ‘नेपालमा केही हुँदैन’ भन्ने नकारात्मक मानसिकता बद्लिनु अबको आवश्यकता भएको बताए। नेपालकै पूँजी प्रयोग गरेर ठूला परियोजना अघि बढाउन सकिने उल्लेख गर्दै उनले महासंघले १० अर्ब रुपैयाँ पूँजीको लगानी कम्पनी गठन गरिसकेको जानकारी दिए। सो कोषमार्फत नयाँ उद्यमीलाई लगानी जुटाउनेदेखि ठूला पूर्वाधार परियोजना अघि बढाउने तयारी भइरहेको बताउँदै उनले ५० अर्बको परियोजनामा काम थालिएको उल्लेख गरे।

ढकालले स्थानीय कच्चा पदार्थ र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखे मात्र अर्थतन्त्र उकासिने बताए। जेन–जी आन्दोलनका क्रममा व्यवसायीमाथि भएकामाथि आक्रमणप्रति आपत्ति जनाउँदै उनले दोषीमाथि कानुनी कारबाहीका लागि महासंघ सक्रिय रहेको बताए।
पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भागबण्डाको संस्कृति अन्त्य नगरे देश अघि नबढ्ने भन्दै आगामी निर्वाचनमा स्थिर सरकार गठनका आवश्यकतामा जोड दिए। चुनाव नै राजनीतिक स्थायित्व र सुधारको आधार भएकाले दलहरुले जनमतको सामना गर्न तयार हुनुपर्ने उनको भनाइ थियो।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी प्राविधिक प्रतिवेदनअनुरूप आवश्यक सुधारका लागि स्थानीय स्तरमा दबाब निर्माण गर्न आग्रह गरे।
महासंघका उपाध्यक्ष हेमराज ढकालले राजनीतिक दलहरुले निजी क्षेत्रसँग समन्वय नगरेकै कारण जेन–जी आन्दोलनजस्ता घटना जन्मिएको बताए। बैंक ऋण र लगानी बोकेर अघि बढिरहेको निजी क्षेत्रलाई हतोत्साहित नगरिन आग्रह गर्दै उनले चुनौतीका बाबजुद उद्यमीहरू हिम्मत नहार्ने बताए।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भयरहित वातावरणमा समयमै निर्वाचन हुनु निजी क्षेत्रको अपेक्षा भएको बताए। चुनावका नाममा अर्थतन्त्रलाई हलचलमा पार्ने र निजी क्षेत्रमाथि दबाब सिर्जना गर्ने गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराए।
जेन–जी आन्दोलनका क्रममा व्यवसायीमाथि भएको आक्रमण स्मरण गर्दै कार्कीले त्यस्तो घटनाले युवाहरूको भविष्यप्रतिको भरोसा कमजोर पारेको बताए। दोषीमाथि कारबाही र यस्ता घटना दोहोरिन नदिन राज्यले ठोस कदम चाल्नुपर्ने उनले बताए।
उनका अनुसार देशमा वर्षेनी श्रम बजारमा प्रवेश गर्ने ५ लाख युवालाई रोक्न राज्य असफल हुँदा विद्रोह स्वाभाविक बनेको पनि बताए। निजी क्षेत्र उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा थप लगानी गर्न इच्छुक भए पनि सुशासन र स्थायित्व अनिवार्य रहेको उनको भनाइ थियो।
कानून, प्रशासनिक सरलीकरण, लगानी सहजता, स्टार्टअप कार्यक्रम र कृषि निर्यात प्रवर्द्धनमा सरकारले ध्यान दिन सके नयाँ पुस्तामा उद्यमशीलता विकास हुने उनले बताए।
गण्डकी सरकारले घरेलु रक्सी तथा गाँजा खेती वैधानिकीकरणतर्फ अग्रसर भएको निर्णयलाई स्वागत गर्दै उनले औषधिजन्य उत्पादनमा निजी क्षेत्रलाई आकर्षित गर्न नियमन झनै स्पष्ट बनाउनुपर्ने बताए।
कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल लगायतले सम्बोधन गरेका थिए। सबै वक्ताले उद्योग, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासका माध्यमबाट प्रदेश तथा राष्ट्रको आर्थिक समृद्धि सम्भव रहेको उल्लेख गरे।
मेला १६० भन्दा बढी स्टलसहित संचालनमा आएको छ। सूचना प्रविधिदेखि घरायसी सामग्री, लत्ताकपडालगायतका उत्पादन समेटिएको मेलामा बिहीबारदेखि प्रत्येक दिन सांस्कृतिक कार्यक्रम हुने र प्रवेश निशुल्क रहेको मेला प्रचार–प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जानकारी दिए।






सम्बन्धित खवर
















