
मंसिर १८, पोखरा ।अंग्रेजी नयाँ वर्षको स्वागत गर्दै पर्यटकीय राजधानी पोखराको लेकसाइडमा २७ औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ। आयोजनाकर्ता रेवान पोखराले बिहीबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी तीव्रगतिमा अघि बढिरहेको जानकारी दिएको हो।
महोत्सव पुष १३ गतेदेखि १७ गतेसम्म लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने छ। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नारासहित हुँदै आएको यस महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख नयाँ वर्ष गन्तव्यका रूपमा स्थापित गर्न सफल हुँदै आएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए।
कार्यक्रम संयोजक तथा रेवानका उपाध्यक्ष वसन्त गौतमका अनुसार यस वर्षको महोत्सवमा विविध जातजातिका लोपोन्मुख संस्कृतिका प्रस्तुति, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रतिस्पर्धा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको स्टल, लाइभ कन्सर्ट, डुंगा दौड, वेटर रेस, डोरी तान्ने, मःम–ससेज खाने प्रतियोगिता लगायतका अन्य आकर्षक गतिविधिहरू रहनेछन्। साथै सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बूथ, तथा पर्यटनका अवसर–चुनौतिबारे अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ।
महोत्सवका मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि हुन् भने सह–प्रायोजकमा यति डिष्टिलरी, बोटलर्स नेपाल (तराई) र द नेपाल डिष्टिलरी प्रालि छन्। नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ तथा पोखरा पर्यटन परिषद् प्रवर्द्धकका रूपमा रहनेछन्। सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर रहेको जानकारी महासचिव बीरेन्द्र शेरचनले दिए।
रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराईका अनुसार महोत्सवमा पोखरा आसपासमा उत्पादन हुने हस्तकला, चित्रकला, मुर्तिकला, कृषि तथा वनस्पति–सम्बन्धी उत्पादनहरूलाई विशेष प्राथमिकता दिइनेछ। साथै पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शनमार्फत पर्यटकीय गन्तव्य प्रमोशनलाई थप बल मिल्ने अपेक्षा गरिएको छ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सडक महोत्सव रेवानले आयोजना गरे पनि यो सबैको साझा उत्सव बनेको बताए।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधिभर खाद्य सामग्रीको गुणस्तर तथा मूल्य नियन्त्रणमा विशेष ध्यान दिन सुझाव दिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सव सफल बनाउन पोखरेली पत्रकारहरूको सक्रिय सहयोग रहने विश्वास दिलाए।










