5Shares

पोखरा, १८ मंसिर । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखरा’मा बिहीबार परम्परागत बालन नाच आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

हराउँदै गएको सांस्कृतिक सम्पदा बालन नाचको संरक्षण र नयाँ पुस्तालाई यसको महत्वबारे जानकारी दिनका लागि यस वर्ष मेलामा विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको मेलाका सांस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य ललित कुँवरले बताए।

बालन नाचमा भगवानका विभिन्न अवतार र लीला कथालाई गीत–संगीत तथा अभिनयमार्फत प्रस्तुत गरिन्छ। रामायण, महाभारत, कृष्णचरित्र र पुराणका कथामा आधारित गीतहरू खैंजडी र मुजुराको तालमा गाइन्छन्। गाउने र नाच्ने समूह अलग–अलग रहने बालनमा राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंसलगायतका पात्रहरूको अभिनयसमेत देखाइन्छ। आरतीबाट सुरु हुने बालन भजनलाई भक्तिसंगीतको अनुपम नमूना मानिन्छ र गण्डकी प्रदेशमा यसका विभिन्न शैली प्रचलित छन्।

बिहीबार देवीस्थान भजन समूह, हेम्जाले बालन प्रस्तुत गरेको थियो। समूहले बालन संरक्षणका लागि विशेष अभियान सञ्चालन गरिरहेको समूहका सचिव झंकनाथ तिम्सिनाले जानकारी दिए।

‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नारासहित सुरु भएको मेला मंसिर २१ गतेसम्म चल्नेछ। पोखरादेखि देशका विभिन्न स्थानमा उत्पादन भएका औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना–प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रका उत्पादन र सेवाको प्रवद्र्धन तथा बजार विस्तार गर्ने मुख्य उद्देश्य मेलाको रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए।

क्यान इन्फोटेकतर्फ सूचना–प्रविधिसम्बन्धी विभिन्न कम्पनीले नवीनतम प्रविधि तथा दैनिक जीवन सहज बनाउने उपकरणहरू प्रदर्शनी र बिक्रीका लागि राखेका छन्। बिहीबार ‘कृतिम बुद्धिमत्ता (एआई) : सकारात्मक्ता र चुनौती’ विषयमा वक्तृत्वकला कार्यक्रम गरिएको क्यान महासंघ गण्डकीका अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिए। शुक्रबार सूचना–प्रविधिबारे विशेष परिसंवाद कार्यक्रम तय गरिएको छ।

मेलामा औद्योगिक उत्पादनदेखि हस्तकला, कृषि, पुष्प, अटो, सूचना–प्रविधि, सरकारी–गैरसरकारी संस्थाका गतिविधि, घरायसी उपभोग्य वस्तु, लत्ताकपडा, श्रृंगारका सामग्रीसमेत बिक्री–वितरणमा राखिएको संघकी महासचिव शोभा गौतमले बताइन्।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected