83Shares

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस गीतका शब्द र सङ्गीत जिडिप र खेम सारूमगरले तयार पारेका हुन्। वेभ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ, मास्टरिङ तथा एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्।

‘त्यो चर्को घाममा रुखको शितलु, तिमी वर हौ म त पिपलु…’ बोल रहेको गीतको भिडियो पनि आकर्षक बन्न सफल देखिन्छ। गङ्गाधर पराजुलीको प्रस्तुतिमा बनेको भिडियोमा बद्री प्रसाद तिवारी र सुरक्षा इटनीले फिचर गर्दै नृत्य र अभिनय प्रस्तुत गरेका छन्। उनीहरूको सहज अभिनय र रोमान्टिक प्रस्तुतीकरणले गीतको प्रभावलाई थप उचाइ दिएको छ।

उत्सव दाहालले छायांकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका छन्। केशवराज भट्टको निर्देशनमा बनेको भिडियोको मूल कन्सेप्ट समेत जिडिपकै हो। पोष्ट प्रोडक्सनको काम भिजुअल किचनमा सम्पन्न गरिएको छ। गीत गङ्गाधर पराजुली अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कास्कीको चापाकोटमा जन्मिएका जिडिप २०६२ सालमा सरुभक्त श्रेष्ठको रचना ‘मैलो लाग्ला नछेक बाटो’ रेकर्ड गरी औपचारिक रूपमा नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका हुन्। पोखरामा रहँदै सङ्घर्षको सुरुवात गरेका उनले २०६५ सालमा काठमाडौं पुगेर संगीत यात्रालाई विस्तार गरे। सोही वर्ष पोखरामा आयोजित शास्त्रीय सङ्गीत प्रतियोगिता र अन्नपूर्ण एफएमको प्रतिभा खोजी प्रतियोगितामा प्रथम स्थान हासिल गरेका उनी २०६५ मै रेडियो नेपालमा आधुनिक गीत गायनतर्फ स्वर परीक्षा पास गरेका थिए।

उनको पहिलो एल्बम ‘शुभारम्भ’ हो। औपचारिक संगीत अध्ययन गरेर दक्षता विस्तार गरेका जिडिप हाल संगीत सिकाइ र सिर्जनामा सक्रिय छन्। नयाँ गीत ‘म त पिपलु’ हेरि–सुनेर प्रतिक्रिया दिन उनले सबै संगीतप्रेमीलाई आग्रह गरेका छन्।

 

83Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected