
पोखरा, १९ मंसिर। पछिल्लो समय नेपालमा प्रविधिको दुरुपयोगसँगै अपराधका प्रकारहरू बढ्दै गएको चर्चा बीच विज्ञहरूले प्रविधिको उपयोगमा संकुचन ल्याउनु समाधान नभएको स्पष्ट पारेका छन्। उनीहरूले प्रविधिले समाजलाई आधुनिक, सचेत र सक्षम बनाउने अवसरहरू बोकेको हुँदा गलत प्रयोग रोक्ने संरचनात्मक उपायमा जोड दिनुपर्ने धारणा राखे।
नेपाल मणिपाल अस्पतालको ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेकअन्तर्गत ‘राष्ट्रको जागरण : प्रविधि र समाजको पुस्तान्तरण’ विषयमा आयोजित संवाद कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री, सामाजिक अभियन्ता विना सिलवाल, सूचना प्रविधि उपप्राध्यापक विष्णुहरि पौडेल र क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले प्रविधिको वर्तमान अवस्था, चुनौती र समाधानका तरिकाबारे विचार व्यक्त गरे।

कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले प्रविधिको दुरुपयोगले देशको सार्वभौमसत्तामासमेत असर पार्न सक्ने चेतावनी दिए। जेन–जी आन्दोलनमा प्रविधिको प्रयोगका कारण सात घण्टामै सत्ता परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले आन्दोलनले देशको कुल ग्राहकस्थ उत्पादन (GDP) को करिब एक तिहाइ बराबरको ६३ खर्ब रुपैयाँ क्षति पुर्याएको दाबी गरे। यस्तो क्षति न्यूनीकरण गर्न समय लाग्ने उनको भनाइ थियो।
सामाजिक अभियन्ता विना सिलवालले पछिल्लो समय मोबाइलबाट लिएर राखिएका व्यक्तिगत तस्बिर तथा अन्तरंग दृश्यहरू सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिने दुरुपयोगले धेरै परिवार विखण्डनमा पुगेको तथ्य उजागर गरिन्। उनका अनुसार, प्रविधिको अनियन्त्रित प्रयोगले सामाजिक संरचनामा गम्भीर नकारात्मक असर पर्न थालेको छ।
सूचना प्रविधि उपप्राध्यापक विष्णुहरि पौडेलले प्रविधिले नेपालमा नयाँ अवसरका ढोका व्यापक रूपमा खोलेको स्वीकार्दै यसको सही प्रयोगका लागि सरकारी संयन्त्र र शैक्षिक प्रणालीबीच समन्वय आवश्यक रहेको बताए। मोबाइलसहितका प्रविधि र कक्षाकोठाको शिक्षाबीच तालमेल नखुलेको उनको टिप्पणी थियो।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले प्रयोगकर्ताहरूले नै प्रविधिको सही सदुपयोगबारे सचेत रहनुपर्ने बताए। बालबालिकालाई मोबाइल र डिजिटल सामग्रीको गलत प्रयोगबाट जोगाउन सहयोगी प्रविधिहरू उपलब्ध भइसकेको बताउँदै उनले अभिभावक र विद्यालय दुवै सतर्क हुनुपर्नेमा जोड दिए।
मेला आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार, समग्र पोखराको अर्थतन्त्रलाई चलायमान बनाउनु र नयाँ सम्भावनाको खोजी गर्नु मेलाको मूल उद्देश्य हो। मेला आइतबारसम्म चल्नेछ।
शनिबार कृषिको व्यावसायिकरण कहिले र कसरी ? विषयमा विशेष परिसंवाद राखिएको छ, जसमा कृषि मन्त्रालयका सचिव बासुदेव रेग्मी र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालसँग पत्रकार भरत कोइरालाले संवाद गर्नेछन्।
त्यसदिन नेपाल मगर संघ कास्कीले विशेष सांस्कृतिक प्रस्तुति पनि दिने कार्यक्रम छ।











