
अन्नपुर्ण, कास्की—अन्नपूर्ण गाउँपालिका-४, भदौरेस्थित श्री भदौरे क्लबको आयोजनामा २७औँ भदौरे पञ्चासे कोदो महोत्सव तथा तमु ल्होसार–२०८२ हुने भएको छ। आगामी पौष ३ देखि ७ गतेसम्म हुने महोत्सवले स्थानीय संस्कृति, खेलकुद र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको क्लबका अध्यक्ष अनिल कुमार गुरुङले बताए।अन्नपूर्ण गाउँपालिका, कास्की तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश महोत्सवको संरक्षकमा रहेको २७औं संस्करणको यस महोत्सव यस वर्ष पनि विविध कार्यक्रमसहित मनाइने गुरुङले जानकारी दिए ।
महोत्सबको आकर्षण खेलकुद कार्यक्रमका लागि टिम दर्ता मिति पौष २ गते साँझ ५ बजेसम्म तोकिएको र दर्ता शुल्क भने निशुल्क रहेको आयोजक क्लबका सचिव शक्ति गुरुङले जनाए।
सचिव गुरुङका अनुसार महोत्सवअन्तर्गत यस वर्ष क्लबस्तरीय पुरुष भलिबल र 5A Side पुरुष फुटबल प्रतियोगिता आयोजना हुने छन्। भलिबलतर्फ विजेताले रु. १ लाख, दोस्रोले रु. ५० हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। फुटबलमा विजेताले रु. ५० हजार तथा दोस्रोले रु. २५ हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र हात पार्नेछन्।

महोत्सव अवधिभर राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूद्वारा नृत्य, गायन, हास्यव्यङ्ग्यका विशेष प्रस्तुति हुने कार्यक्रम राखिएको छ। साथै, स्थानीय सांस्कृतिक झल्को दिने कोदो प्रदर्शनी, पिङ, घरायसी उत्पादन स्टलहरू, तथा परम्परागत खेलकुद समेत सञ्चालन गरिनेछ।
ढिडो खाने, ठेलो हान्ने, छेलो हान्ने, कुर्ची घुमाउने, घैटो फुटाउने तथा आमा समूहबीच रस्सी तान्ने प्रतियोगिताले महोत्सवलाई अझ आकर्षक बनाउनेछ। यी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः रु. १०,०००, रु. ५,०००, र रु. २,५०० सहित फेटा पुरस्कार प्राप्त गर्नेछन्।
वार्षिक रूपमा आयोजना हुँदै आएको भदौरे कोदो महोत्सवले स्थानीय कृषि—विशेषगरी कोदो उत्पादन—लाई प्रवर्द्धन गर्दै आए अन्नपुर्ण गाउँपालिका वडा नं. ४ क वडाध्यक्ष आइन्दल गुरुङले बताए। स्वदेशी तथा विदेशी पर्यटक आकर्षणमा यो महोत्सव महत्वपूर्ण मानिँदै आएको वडाध्यक्ष गुरुङको दावी छ ।






सम्बन्धित खवर
















