6Shares

लेखनाथ, २० मंसिर।लेखनाथ उद्योग वाणिज्य संघले आगामी पौष २ गतेदेखि १४ गतेसम्म आयोजना गर्न लागेको २१औँ लेखनाथ महोत्सवको तयारी तीव्र गरिएको छ। महोत्सवलाई सफल बनाउन यस क्षेत्रका संघ–संस्था तथा महिला/आमा समूहका प्रतिनिधिहरूको शनिबारको भेलाले सबै पक्षबाट सक्रिय सहयोग जरूरी रहेकोमा जोड दिएको छ।

भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सवलाई नेपालकै उत्कृष्ट महोत्सवका रूपमा परिचित गराउँदै यसलाई उचाइमा पुर्‍याउन महिला समूहको सक्रिय भूमिकाको प्रशंसा गरिन्।

उनका अनुसार, “२९ वर्षे इतिहासमा लेखनाथ उद्योग वाणिज्य संघले महिला नेतृत्व पाएको श्रेय यहाँका महिलाहरूलाई नै जान्छ।”

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको प्रसङ्ग उठाउँदै उनले हिंसाका रूपहरू बदलिँदै गएको उल्लेख गरिन् र महिलालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा संघकी अध्यक्ष तथा महोत्सव मुल संयोजक जानुका पराजुलीले लेखनाथ महोत्सवले जातजाति, भाषा–संस्कृति तथा सम्पूर्ण समुदायलाई एकै थलोमा जोड्दै मौलिक पहिचान जोगाउन सहयोग पुगेको बताइन्।

उनले संघ–संस्था तथा महिला आमा समूहको निरन्तर सहयोगकै कारण हरेक संस्करण सफल हुँदै आएको उल्लेख गर्दै यसपालि पनि उत्कृष्ट रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन्।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ क्षेत्रको पहिचान जोगाउन लेखनाथ महोत्सव महत्वपूर्ण आधार भएको बताउँदैं महिलाहरूको एकतापूर्ण सहयोग आवश्यक रहेको धारणा राखिन्।

भेलामा सहभागी महिला/आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले झाँकी र्याली, रत्यौली प्रतियोगिता लगायतका गतिविधिमा बढी सहभागिता सुनिश्चित गर्न सुझाव र जिज्ञासा राखे। साथै, महोत्सव सफल बनाउन आजैदेखि तयारी सुरू गर्ने प्रतिबद्धतासमेत जनाए।

कार्यक्रम महिला/आमा समूह परिचालन उप–समितिका संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न भयो। सञ्चालन महिला विशेष कार्यक्रम संयोजक प्रतिक्षा रानाभाटले गरेकी थिइन् भने धन्यवाद महिला उद्यमी समन्वय उप–समिति संयोजक शर्मिला श्रेष्ठले दिइन्।

यस वर्षको महोत्सव **गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.**को मुख्य प्रायोजनमा तथा बिएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौडा डेरीको सह–प्रायोजनमा सञ्चालन हुँदैछ। प्रमोटरका रूपमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन्। प्रायोजक व्यवस्थापन संयोजक विक्रम कर्माचार्यका अनुसार तयारीका सबै पक्षहरू तीव्र गतिमा अघि बढाइएको छ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected