191Shares

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस सूची केन्द्रमा पठाएसँगै जिल्लाको राजनीतिक वातावरण तातिएको छ। बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले सार्वजनिक गरेको सूचीमा पार्टीका केन्द्रीय उपसभापति देखि वरिष्ठ सञ्चारकर्मीसम्मका नाम समेटिनुले कांग्रेसभित्रको टिकट प्रतिस्पर्धा चर्किंदै गएको संकेत गर्छ।

यसपटक सबैभन्दा बढी चर्चा पाएका नाममध्ये एक हुन्—वरिष्ठ पत्रकार तथा ‘नेपालबहस डटकम’का प्रधानसम्पादक इन्द्रबहादुर रिजाल। कांग्रेस प्रचार विभागका केन्द्रीय सदस्य समेत रहेका रिजाललाई स्याङ्जा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ सिफारिस गरिएको हो।पत्रकारितामार्फत राष्ट्रिय राजनीतिमा सक्रिय भूमिकामा देखिँदै आएका उनी प्रत्यक्ष प्रतिस्पर्धामा आउनसक्ने संकेतले स्याङ्जाको राजनीतिक समीकरणमा नयाँ बहस उत्पन्न भएको छ।

पार्टी उपसभापति धनराज गुरुङलाई जिल्ला समितिले क्षेत्र नम्बर १ र २ दुवैबाट सिफारिस गरेको छ। शीर्ष नेतृत्वमा रहने गुरुङलाई सुरक्षित क्षेत्र सुनिश्चित गर्न दुवै क्षेत्रबाट नाम पठाइएको बुझिन्छ। अब उनले कुन क्षेत्र रोज्ने हुन् भन्ने प्रश्नले कांग्रेसभित्र थप जिज्ञासा पैदा गरेको छ।

जिल्लाबाट केन्द्रमा पठाइएको पत्र (च.नं. ३०/०८२/०८३) अनुसार क्षेत्र नं. १ मा ११ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ।
पूर्व सांसद राजु थापा, उपसभापति गुरुङ जस्ता ‘हेभीवेट’ नेतासँगै इन्द्र रिजाल जस्ता नयाँ अनुहारको उपस्थिति केन्द्रमा टिकट वितरणलाई चुनौतीपूर्ण बनाउने देखिन्छ।

क्षेत्र नं.  १ मा प्रतक्ष्यमा सिफारिस भएका ११ जनामा राजु थापा, धनराज गुरुङ(दुवै क्षेत्रबाट),अजित अधिकारी क्षेत्री, मेखलाल श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, प्रेमराज पौडेल, बुद्धिबहादुर राना (कुमार), खुमा प्रसाद अर्याल (दुवै क्षेत्रबाट), इन्द्रबहादुर रिजाल, बन्दना लम्साल, भरतराज ढकाल रहेका छन्।

यसैगरी समानुपातिकमा  तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल, दिलीपाश्री अधिकारी सिफारिस भएका छन्।  प्रत्यक्षतर्फ ठूलो संख्यामा आकांक्षी देखिनुले धेरै नेताहरू प्रत्यक्ष प्रतिस्पर्धामा नै होमिन चाहेको पुष्टि हुन्छ।

क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस भएको छ। पुराना प्रभावशाली नेता गोपालमान श्रेष्ठदेखि युवा पुस्तासम्मका नेताहरूको नाम सो सूचीमा छ। धनराज गुरुङ, भागवतप्रकाश मल्ल र मोहनप्रसाद पाण्डेय पनि बलिया दाबेदार मानिएका छन्।

समानुपातिक सुचिमा भुमा शर्मा पाण्डे, तुलसी नेपाली (दलित महिला), देवकी राना (जनजाति), विमला श्रेष्ठ, लिलबहादुर रनपाल (दलित), सूर्य माझी (अल्पसंख्यक) पार्टीले विविध समुदाय प्रतिनिधित्व गराउने प्रयास समानुपातिक सूचीमा स्पष्ट देखिन्छ।

जिल्लाबाट पठाइएका नामहरूमाथि अब नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिले निर्णय गर्नेछ। स्याङ्जामा कांग्रेसको बलियो संगठनात्मक संरचना भए पनि एउटै क्षेत्रबाट दर्जनभन्दा बढी आकांक्षी आउनुले गुटगत सन्तुलन मिलाउन नेतृत्वले कडा निर्णय लिनुपर्ने देखिन्छ।

अब पार्टीले पुराना ‘हेभीवेट’ नेतामार्फत चुनाव लड्ने कि इन्द्र रिजालजस्ता ‘प्रोफेसनल नयाँ अनुहार’लाई अग्रसर पार्ने—यो स्पष्ट हुन टिकट वितरण नै पर्खिनुपर्नेछ।

191Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected