२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

बिरेठाँटी मा. वि. मा स्वर्ण जयन्ती: शिक्षा, संस्कृति र समुदायको ऐतिहासिक संगम

बिरेठाँटी (कास्की) । संस्कारयुक्त, व्यवहारिक तथा जीवनोपयोगी प्राविधिक शिक्षा आजको आवश्यकता भएको सन्देशसहित अन्नपूर्ण गाउँपालिका–८, कास्कीस्थित श्री बिरेठाँटी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण जयन्ती (स्वर्ण महोत्सव २०८२) भव्य रूपमा मनाएको छ। समुदायको निरन्तर सहयोग, श्रमदान र प्रतिबद्धताका कारण विद्यालयले आधा शताब्दी लामो शैक्षिक यात्रा सफलतापूर्वक पूरा गरेको हो।

तीनदिने स्वर्ण महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियो। उद्घाटन समारोहअन्तर्गत आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री पाण्डेले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा मुख्यमन्त्री पाण्डेले विद्यालय तहदेखि नै व्यवसायिक, नैतिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

वि.सं. २०३२ सालमा स्थानीय समाजसेवी, शिक्षाप्रेमी तथा अभिभावकहरूको सक्रिय पहलमा ठाँटी घरबाट सुरु भएको यस विद्यालय आज शिशु कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुने एक अग्रणी शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ। हाल विद्यालयमा २१४ जना विद्यार्थी अध्ययनरत छन्।

समयसापेक्ष र रोजगारमुखी शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यालयले वि.सं. २०७५ सालदेखि कक्षा ९–१२ मा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ विषय सञ्चालन गर्दै आएको छ। ग्रामीण भेगमै रहेर सूचना प्रविधि शिक्षामा पहुँच विस्तार गर्दै विद्यालयले संस्कार, सीप र प्रविधिको समन्वयमा दक्ष जनशक्ति उत्पादन गरिरहेको छ।

स्वर्ण जयन्ती समारोहको उद्घाटन अवसरमा विद्यालयका पूर्व विद्यार्थी इ. सुमन शर्माले स्वागत मन्तव्य राख्दै संस्कार, सीप र प्रविधिको संयोजन नै आधुनिक शिक्षाको आधार भएको उल्लेख गरे । विद्यालयका प्रधानाध्यापक हिमलाल न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विद्यालयको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धि तथा भावी योजनाबारे विस्तृत जानकारी गराइएको थियो।

विद्यालयले हालसम्म ६८० जना विद्यार्थीलाई एसईई तथा ८६ जना विद्यार्थीलाई कक्षा १२ सम्म पुर्‍याइसकेको छ। यहाँबाट उत्पादन भएका जनशक्ति देश–विदेशका विभिन्न क्षेत्र, व्यापार, समाजसेवा तथा सरकारी निकायमा सफलतापूर्वक स्थापित भइसकेका छन्।
भौतिक पूर्वाधारतर्फ विद्यालयमा ६ वटा भवन, २९ कक्षाकोठा, पुस्तकालय, दुई कम्प्युटर प्रयोगशाला, एक विज्ञान प्रयोगशाला, शौचालय लगायत आवश्यक संरचना निर्माण भइसकेका छन्। साथै वि.सं. २०८१ देखि विद्यालय एसईई परीक्षा केन्द्र का रूपमा समेत स्थापित भएको छ।

विद्यालयको विकास यात्रामा Um Hong Gil Human Foundation, Gorkha Welfare Trust (GWT), Lions Club, पाहार ट्रष्ट नेपाल, विभिन्न आमा समूह, युवा क्लब, अक्षयकोषदाता तथा व्यक्तिगत सहयोगीहरूको उल्लेखनीय योगदान रहेको विद्यालयले जनाएको छ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयले आगामी दिनका लागि प्राविधिक धारका विद्यार्थीका लागि स्कुल बस सञ्चालन, टाढाबाट आउने तथा आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि निःशुल्क छात्राबास, डिजिटल कक्षाकोठा निर्माण, तथा विद्यार्थी हितकोष सञ्चालन जस्ता दीर्घकालीन लक्ष्यहरू सार्वजनिक गरेको छ।

महोत्सव अवधिभर विद्यालय प्राङ्गणमा सांस्कृतिक कार्यक्रम, कलाकारहरूको प्रस्तुति, हस्तकला तथा ICT प्रदर्शनी, खेलकुद प्रतियोगिता, साथै जग्गादाता, अक्षयकोषदाता, पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी र पूर्व विद्यार्थीहरूको सम्मान कार्यक्रम सम्पन्न भएका थिए।

संस्कार, सीप, प्रविधि र समुदायको संयुक्त प्रयासबाट अघि बढेको श्री बिरेठाँटी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती केवल उत्सवमा सीमित नभई ग्रामीण क्षेत्रमा गुणस्तरीय प्राविधिक शिक्षाको सम्भावना, प्रभावकारिता र दिशाको सशक्त उदाहरण बनेको छ।

श्री बिरेठाँटी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित पालिकास्तरीय विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा पुरुषतर्फ बिरेठाँटी माध्यमिक विद्यालय प्रथम भएको छ। प्रतियोगितामा द्वितीय स्थान भगवती माध्यमिक विद्यालय, तिखेढुङ्गाले तथा तृतीय स्थान मेश्रम बराह माध्यमिक विद्यालयले हासिल गरेका छन्।

त्यसैगरी महिलातर्फको प्रतियोगितामा बिरेठाँटी माध्यमिक विद्यालय प्रथम र भगवती माध्यमिक विद्यालय, तिखेढुङ्गा द्वितीय भएका छन्। उक्त जानकारी विद्यालयकी शिक्षिका शान्ति सापकोटाले दिएकी छन् ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ का सभापति मनोज गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम जैसीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा स्वर्ण महोत्सव मूल आयोजक समितिका पूर्व शिक्षक संयोजक धर्मदत्त पौडेलले संयोजकहरुको तर्फबाट मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका भविकला कुँवरले गरेकी थिइन् ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…