31Shares

पोखरा। नेपाल विद्यार्थी संघ, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस र लायन्स क्लब अफ पोखरा आदर्शको संयुक्त आयोजनामा सम्पन्न स्वैच्छिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थी–युवा र सामाजिक संस्थाबीचको सहकार्यले सामाजिक उत्तरदायित्वलाई अझ बलियो बनाएको भन्दै कार्यक्रममा सहभागीहरूले यस पहलको खुलेर प्रशंसा गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले पहिलो रक्तदाता नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष मनीष आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए। कार्यक्रममार्फत कुल ९१ युनिट रगत संकलन गरिएको आयोजकहरूले जनाएका छन्।

लायन्स क्लब अफ पोखरा आदर्शका अध्यक्ष भोजबहादुर केसी र नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष मनीष आचार्यको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरा आदर्शका सचिव गोविन्द चापागाईँले सञ्चालन गरेका थिए।

प्रमुख अतिथि भट्टराईले रक्तदान मानव जीवन बचाउने सबैभन्दा सरल, प्रभावकारी र महान सेवा भएको उल्लेख गर्दै यसले समाजमा सकारात्मक ऊर्जा र मानवीय चेतनाको विकास गर्ने बताए। रक्त अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा डिष्ट्रिक्ट चिफ पीआरओ ऋषि गिरी, डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर युवराज खनाल, टंकराज अधिकारी, डिष्ट्रिक्ट ब्लड डोनेसन को–अर्डिनेटर तथा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस कर्मचारी संघका अध्यक्ष दिलबहादुर थापा, रिजन चेयरपर्सन कृष्ण गुरुङ, जोन चेयरपर्सन सूर्य पोखरेल तथा लायन्स क्लब अफ पोखरा आदर्शका पूर्व अध्यक्षहरू सञ्जय अधिकारी, रमेश थापा, मिलन केसी, दिनेश भण्डारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउनुका साथै विद्यार्थी र सामाजिक संस्थाबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूको निष्कर्ष रहेको छ।

रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रक्तदानसम्बन्धी प्राविधिक जानकारी दिँदै कसले रक्तदान गर्न मिल्ने र नमिल्ने, साथै स्वस्थ व्यक्तिले प्रत्येक तीन–तीन महिनामा सुरक्षित रूपमा रक्तदान गर्न सकिने विषयमा स्पष्ट पारे। त्यस्तै ब्लड डोनेसन डिपार्टमेन्ट प्रमुख मात्रिका पोखरेलले रक्त व्यवस्थापन र यसको महत्वबारे जानकारी गराएका थिए।

कार्यक्रमको समापनमा धन्यवाद मन्तव्य राख्दै नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष मनीष आचार्यले नेपाल विद्यार्थी संघ विद्यार्थी राजनीतिको मूल प्रवाहमा रहे पनि सामाजिक उत्तरदायित्वका कार्यमा सदैव सक्रिय रहँदै आएको बताए। विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबसँग सहकार्य गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको उनले उल्लेख गरे।

31Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected