
काठमाडौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपालले लायन्स अन्तर्राष्ट्रियको प्रतिष्ठित इशामे फोरम मा सहभागी सम्पूर्ण डिष्ट्रिक्टहरूमध्ये ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ कीर्तिमान स्थापित गरेको छ। डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटाको सक्षम र दूरदर्शी नेतृत्वमा डिष्ट्रिक्ट ३२५ आरले सदस्यता वृद्धि, मानवीय सेवा तथा फाउन्डेसन सहयोगसम्बन्धी तीनवटै प्रमुख अन्तर्राष्ट्रिय लक्ष्य सफलतापूर्वक पूरा गरी एकैसाथ अन्तर्राष्ट्रिय सम्मानहरू हात पार्न सफल भएको हो।
आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत डिष्ट्रिक्ट ३२५ आरले आफ्ना उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गरेको हो। सम्मेलनमा प्रस्तुत जानकारीअनुसार डिष्ट्रिक्टले सदस्यता वृद्धिको निर्धारित लक्ष्य शतप्रतिशत पूरा गर्दै सम्बन्धित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
त्यसैगरी, लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (LCIF) को लक्ष्यसमेत पूर्ण रूपमा हासिल गर्दै डिष्ट्रिक्ट ३२५ आरले लायन्सको अन्तर्राष्ट्रिय फाउन्डेसनप्रतिको प्रतिबद्धता पुष्टि गरेको छ र यसका लागि विशेष अवार्ड प्राप्त गर्न सफल भएको छ।
यसका अतिरिक्त, नोभेम्बर १ देखि डिसेम्बर १५ सम्म सञ्चालन गरिएको विशेष २०० सदस्यता वृद्धि अभियानमा डिष्ट्रिक्टले अपेक्षाभन्दा उल्लेखनीय सफलता हासिल गर्दै ३४८ नयाँ सदस्य थप्न सफल भयो। लक्ष्यको तुलनामा १७५ प्रतिशत प्रगति हासिल गरेसँगै डिष्ट्रिक्ट ३२५ आरले ग्लोबल एक्सन टिम (GAT) अन्तर्गतको रिजनल अवार्ड समेत आफ्नो नाममा लेखाएको छ। यी अवार्डहरू लायन्स डिष्ट्रिक्टका लागि अत्यन्तै महत्वपूर्ण र प्रतिष्ठित मानिन्छन्।
तीनवटै अन्तर्राष्ट्रिय सम्मान एकैसाथ प्राप्त गर्दै डिष्ट्रिक्ट ३२५ आरले इशामे फोरममा सहभागी अन्य सबै डिष्ट्रिक्टहरूलाई पछि पार्दै उत्कृष्ट कार्यसम्पादनको उदाहरण प्रस्तुत गरेको छ। यो उपलब्धिलाई लायन्स अन्तर्राष्ट्रियको इतिहासमै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटाले यो सफलता डिष्ट्रिक्ट टिम, क्लबहरू तथा सम्पूर्ण सदस्यहरूको सामूहिक प्रयास, अनुशासन र निस्वार्थ सेवाभावको परिणाम भएको बताए। उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै भने,“यो उपलब्धिले लायन्स अन्तर्राष्ट्रियमा नेपालको पहिचानलाई अझ सशक्त, विश्वसनीय र सम्मानित बनाएको छ।”
उनका अनुसार डिष्ट्रिक्ट ३२५ आरको यस सफलताले नेपाली लायन्स आन्दोलनलाई नयाँ उचाइमा पुर्याएको छ भने आगामी दिनमा अझ प्रभावकारी मानवीय सेवा, सदस्यता विस्तार र संगठनात्मक सुदृढीकरणका लागि प्रेरणाको स्रोत बनेको छ।











