23Shares

पोखरा। लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव २१औँ संस्करणमा आइपुग्दा केवल उत्सवमा सीमित नरही कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक रूप लिँदै स्थानीय समृद्धिको आधार बनेको छ ।

हाल लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार–व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहसले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको छ ।

सुरुआती दिनमा सुन्तला उत्पादन र बजारीकरणलाई केन्द्रमा राखेर सुरु गरिएको महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवर्द्धनतर्फ केन्द्रित हुँदै आएको छ । विभिन्न राजनीतिक, सामाजिक र आर्थिक उतार–चढाव पार गर्दै २०८२ सालसम्म आइपुग्दा महोत्सव २१औँ संस्करणमा सफलतापूर्वक सञ्चालन भइरहेको छ ।

महोत्सव आयोजक संस्थाका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार हालसम्म लेखनाथ महोत्सवमार्फत करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । २१औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् । महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्‍याएको उनले बताए ।

सोमबार आयोजित कृषि बहस कार्यक्रममा विभिन्न क्षेत्रका कृषक र सरोकारवालाहरूले आफ्ना अनुभव र चुनौती प्रस्तुत गरेका थिए ।
माछापालक कृषक यज्ञप्रसाद आचार्यले व्यावसायिक माछापालनका क्रममा भोग्नुपरेका चुनौती, बजार व्यवस्थापन र प्रविधिको महत्वबारे धारणा राखे । अलैंची कृषक सुरेन्द्रजङ्ग क्षत्रीले नगदे बालीका रूपमा अलैंची खेतीले ग्रामीण अर्थतन्त्रमा ल्याएको सकारात्मक परिवर्तनसँगै जोखिमबारे अनुभव सुनाए । त्यसैगरी पोल्ट्री व्यवसायी बाबुराम गिरिले व्यवसायिक पोल्ट्री खेतीका उतार–चढाव, रोग व्यवस्थापन र बजार प्रतिस्पर्धाबारे विचार व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र कृषक लक्षित सहयोग योजनाबारे जानकारी गराउँदै सरकार र कृषकबीच सहकार्य अपरिहार्य रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार सुरेन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, कृषक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।

कृषि र व्यापारसँगै लेखनाथ महोत्सव सांस्कृतिक तथा साहित्यिक गतिविधिको केन्द्रसमेत बनेको छ । सोमबार रत्यौली, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति, नृत्य, लोकदोहोरी, सुगम संगीत तथा गायन कार्यक्रमहरू तालिकाअनुसार सञ्चालन भइरहेका छन् ।

कवि शिरोमणि लेखनाथ पौड्यालको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको साहित्यिक कार्यक्रममा दर्शक सहभागितामूलक प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको छ । साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुङ्गानाका अनुसार कवि लेखनाथ पौड्यालको जीवनी र कृतिबाट २१ प्रश्न सोधिनेछ, जसको सही उत्तर दिने प्रत्येक विजेतालाई १ हजार ५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस वर्ष कवि शिरोमणि लेखनाथ पौड्यालसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाललाई विशेष अभिनन्दन गर्ने कार्यक्रम पनि महोत्सवको आकर्षण बनेको छ ।

प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार सोमबार मात्र २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । सोही दिन करिब १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । आगामी दिनमा दर्शक संख्या र कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादनको बजारीकरण, साना व्यवसाय प्रवर्द्धन, कृषकको हौसला र सांस्कृतिक पहिचान जोगाउने माध्यमका रूपमा लेखनाथ महोत्सव प्रभावकारी बन्दै गएको छ । अझै केही दिन सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected