24Shares

पोखरा। पोखरा महानगरपालिका–१३  स्थित आर्बा बिजयी माध्यमिक विद्यालयमा रोटरी क्लब अफ पोखरा न्यूरोडले एक थान कम्प्युटरसहित ७५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ। विद्यार्थीहरूको शैक्षिक स्तर उकास्ने र प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार सामुदायिक विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको पहुँच विस्तार गर्नु नै यस कार्यक्रमको मुख्य लक्ष्य हो।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पद्मावती अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल तथा सो वडाका जनप्रतिनिधि रजनी परियारले रोटरी क्लब अफ पोखरा न्यूरोडप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालयको पठन–पाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

क्लबका प्रेसिडेन्ट इलेक्ट राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिपेन्द्र शर्माले रोटरी क्लबले शिक्षा र स्वास्थ्यसँगै ग्रामीण क्षेत्रका गृहिणीहरूका लागि वितरण गरेको विद्युतीय चुलो प्रभावकारी रहेको उल्लेख गरे ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सुभाष सिङ्देल, टुबराज बास्तोला र पुष्पकमल पौडेल,अब्रहम खानलगायतले रोटरी क्लबले शिक्षा, स्वास्थ्य र समुदाय विकासका क्षेत्रमा गर्दै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

क्लबका अध्यक्ष अमृत बास्तोलाले आगामी दिनमा सामुदायिक विद्यालय लक्षित शैक्षिक सामग्री वितरण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए । क्लबको स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको यस कार्यक्रमले क्लबका सदस्यहरूमा थप उत्साह र हौसला प्रदान गरेको उनले बताए । कार्यक्रममा क्लबका सदस्यहरू, विद्यालय परिवार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

24Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected