6Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतालाई अब कुनै अलमल नगरी राष्ट्रको भविष्यलाई केन्द्रमा राख्दै दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन सफल पार्न आग्रह गरेकी छन्।

शनिबार बालुवाटारमा निर्वाचन तयारीका विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा प्रधानमन्त्री कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लैजान निर्वाचन अपरिहार्य रहेको धारणा राखिन्।

बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, “अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको साझा जिम्मेवारी हो।”

आफू न्याय क्षेत्रबाट आएको स्मरण गराउँदै प्रधानमन्त्री कार्कीले राष्ट्रपति बाट निर्वाचन गराउने कार्यादेश पाएपछि सरकार पूर्ण रूपमा चुनाव केन्द्रित बनेको स्पष्ट पारिन्। उनले भनिन्, “प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई हस्तान्तरण गरिसकेको छु।”

प्रधानमन्त्रीको आग्रहसँगै बैठकमा सहभागी दलका शीर्ष नेताहरूले निर्वाचन सफल बनाउन आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बैठकलाई मुलुकलाई लामो राजनीतिक संक्रमणबाट निकास दिन महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected