


पोखरा, १२ पुस । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष आदर्श समाज राष्ट्रिय दैनिक तथा रेडियो नेपालका संवाददाता कविराज खनाललाई प्रदान गरिने भएको छ । लेखनाथ क्षेत्रको समग्र विकासमा लामो समयदेखि पत्रकारितामार्फत योगदान पुर्याएको मूल्यांकन गर्दै छनोट समितिले खनाललाई ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यसैगरी, शेर विष्णु पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टको अंग्रेजी संस्करण दि अन्नपूर्ण एक्सप्रेस की पोखरा संवाददाता स्मीता अधिकारी तिवारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ५ हजार ५५५ रुपैयाँ रहेको छ ।
दुवै पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसरमा अर्घौ अर्चलेमा आयोजना हुने मूल समारोहमा प्रदान गरिनेछ ।











