24Shares

पोखरा।  पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोस्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा वेटरतर्फ बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका अमर परियार द्वितीय तथा बेञ्जनकै इमोन थापाले तृतीय स्थान हासिल गरे। त्यस्तै वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टकी मोनिका नेपाली प्रथम, मोबु रेष्टुरेण्टकी रिकिता पौडेल द्वितीय तथा बेलिफ रेष्टुरेण्टकी अश्मि घर्ती मगर तृतीय भइन्। विजेताहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

हल्लनचोकदेखि खहरेचोकसम्म आयोजना गरिएको दौड प्रतियोगितामा वेटरतर्फ २० जना र वेट्रेसतर्फ ९ जनाको सहभागिता रहेको थियो। विजेताहरूलाई रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले पुरस्कार प्रदान गरे।

लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रफलमा जारी महोत्सवअन्तर्गत सोमबार सडक बहस कार्यक्रम पनि सम्पन्न भएको छ।अम्मटस्थित सडकमै आयोजित बहसमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटा वक्ताका रूपमा प्रस्तुत भएका थिए । कार्यक्रमको मोडरेसन सञ्चारकर्मी जमुना वर्षाको थियो भने सञ्चालन रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले गरेका थिए ।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह–प्रायोजकमा यति डिस्टिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिस्टिलरी प्रालि रहेका छन्। प्रवर्द्धक संस्थाहरूमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन्। सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर रहेको छ भने म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केबलकार र रेड बुल सहयोगी संस्थाका रूपमा रहेका छन्।

महोत्सवअन्तर्गत मंगलबार बिहान अम्मट घाटमा डुंगा दौड प्रतियोगिता आयोजना गरिनेछ।

24Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected