
पोखरा। इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा सोमबारदेखि पोखरामा दुईदिने गार्मेन्ट तथा हस्तकला मार्ट (मेला) सुरु भएको छ। मेलाको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गरेका हुन्।
उद्घाटन समारोहमा मन्त्री बस्यालले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरणमा यस्ता मेला–महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए। “यस्ता मेला–महोत्सवले स्थानीय कला, सीप र प्रविधिको जगेर्नासँगै आयआर्जन र उद्यमशीलता विकासमा टेवा पुर्याउँछन्,” उनले भने, “गण्डकी प्रदेश सरकारले स्थानीय कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि निरन्तर लगानी गर्दै आएको छ। पाँच जिल्लामा स्वदेशी उत्पादनका कोशेली घर निर्माण गर्ने योजना अगाडि बढाइएको छ।” लगानी र प्रविधिको अभावका कारण रैथाने ज्ञान तथा सीप विस्थापित हुँदै गएको उल्लेख गर्दै उनले ग्रामीण अर्थतन्त्र सुदृढ गर्न स्थानीय उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताए।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले मेलाले आर्थिक गतिविधिसँगै पोखराको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने बताए। “स्थानीय तथा मौलिक उत्पादनले पर्यटनलाई थप आकर्षक बनाउँछ। पर्यटन फस्टायो भने आर्थिक अवसर सिर्जना हुन्छ,” उनले भने, “पोखराको आर्थिक रुपान्तरणको प्रमुख आधार नै पर्यटन हो।” हस्तकलाबाट तयार गरिएका सामग्री तथा हाते तानमा बुनिएका कपडामार्फत स्थानीय व्यवसायीलाई पर्यटनसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको उनको भनाइ थियो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको व्यवस्थित बजारीकरण आवश्यक रहेको बताए। पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईले गार्मेन्ट तथा हस्तकला मार्टलाई निरन्तरता दिँदै थप विस्तार गर्नुपर्ने धारणा राखे।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा आयोजना हुने मेला–महोत्सवले पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताए। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भइरहेका विभिन्न पर्यटकीय गतिविधिका कारण पोखराका होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ भएको उनले जानकारी दिए।
पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउँदै विश्व बजारसम्म पुर्याउन सरकारको लगानी वृद्धि आवश्यक रहेको बताए। नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिकी महासचिव जमुना शर्मा ‘वर्षा’ले मेलाले स्थानीय उद्यमीलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिन्।
मेलाका संयोजक सुरेन्द्र पौडेलले घरेलु सीप र प्रविधिको प्रयोगबाट उत्पादित हस्तकला सामग्रीको पहिचान र प्रवद्र्धन मार्टमार्फत हुने बताए। एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन मार्टले योगदान दिने विश्वास व्यक्त गरे। “हेम्प्स, अल्लो, सिस्नो लगायत स्थानीय कच्चा पदार्थबाट बनेका औषधीय गुणयुक्त कपडाको महत्व बुझ्न र बुझाउन मार्ट उपयोगी हुनेछ,” उनले भने, “स्वदेशी उत्पादनलाई स्थापित गर्दै रोजगारी सिर्जना गरी युवाको विदेश पलायन रोक्न र ग्रामीण अर्थतन्त्र उकास्न घरेलु उत्पादनको बजारीकरण अपरिहार्य छ।”
मार्टमा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, लमजुङ, म्याग्दी, नवलपुर र रुकुम पूर्वलगायत जिल्लाका उद्यमीले हेम्प्स, अल्लो, ऊनलगायत सामग्रीबाट बनेका वस्तुहरू प्रदर्शनी तथा बिक्रीमा राखेका छन्। एगाका सचिव माया सुवेदीका अनुसार मार्टमा ‘ग्रामीण उद्यम, पर्यटन र अर्थतन्त्र’ लगायत विषयमा टक शोसमेत आयोजना गरिएको छ।











