पौष २९ देखि पोखरामा चौधौँ पोखरा महोत्सव, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य
- January 1, 2026
- 1683

पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा चौधौँ संस्करणको पोखरा महोत्सव आगामी पौष २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको वडा नं. १० र १२ मा अवस्थित अमरसिंह माध्यमिक विद्यालयको विशाल खेल मैदानमा आयोजना हुने भएको छ । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा करिब २ लाख ५० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ ।
महोत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार यस वर्ष महोत्सवमा २ सय ५० वटा स्टल रहनेछन्, जसका सम्पूर्ण स्टलहरू पूर्ण रूपमा बुक भइसकेका छन् । महोत्सवबाट करिब १ करोड ५१ लाख ७५ हजार रुपैयाँ आम्दानी हुने र १ करोड २३ लाख ६० हजार रुपैयाँ खर्च भई करिब २८ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।
महोत्सवबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्द्धनमा खर्चिँदै आएको आयोजकले जनाएको छ । क्लबले यसअघि महोत्सवकै आम्दानीबाट पोखरा तथा आसपासका २० सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना, शैक्षिक सामग्री वितरण तथा ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
यसैगरी पोखरा–२७ अर्चलेमा निर्माणाधीन युनाइटेड छात्राबास परियोजनाअन्तर्गत हालसम्म ३ कोठाको भवन निर्माण सम्पन्न भइसकेको र यस वर्षको महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याइने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा रवि कार्की, शान्तिश्री परियार, प्रकाश सपुत, समिक्षा अधिकारी, सविन राई, भिटेन लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । साथै लोकनृत्य प्रतियोगिता, झाँकी प्रदर्शन, बाल उद्यान, विज्ञान प्रदर्शनी, कृषि गतिविधि तथा विविध सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् ।
महोत्सवमा फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, पत्रकार, विदेशी पर्यटक तथा ५ वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
चौधौँ पोखरा महोत्सवको उद्घाटन २०८२ साल पौष २९ गते दिउँसो १२ः३० बजे गरिनेछ भने माघ ११ गते समापन गरिने आयोजकले जनाएको छ ।













