
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियस्तरका ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने निर्णय गरेको छ।
आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ–संस्थासँग सम्बन्धित राष्ट्रियस्तरका ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीहरू आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटाइने छैनन्। यही व्यवस्था आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा लागू हुनेछ।
त्यसैगरी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा सो निर्वाचन क्षेत्रमा उक्त कर्मचारीलाई पनि खटाइने छैन। निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन यो निर्णय गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०८२’ अनुसार कार्यालय सुरक्षामा खटिएका सुरक्षा गार्ड, पाले–पहरा बस्ने कर्मचारी तथा स्वास्थ्य सेवा, विद्युत्, टेलिफोन, बैंक, वारुण्यन्त्र, खानेपानीजस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म निर्वाचन कार्यमा खटाइने छैन।
निर्वाचन आयोग ऐन, २०७४ को दफा ८० बमोजिम उक्त निर्देशिका तयार गरिएको आयोगले स्पष्ट पारेको छ। निर्देशिकाले निर्वाचनमा खटिने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीको परिचालनलाई कानुनसम्मत र व्यवस्थित बनाउने उद्देश्य लिएको छ।
निर्देशिकाको प्रभावकारी कार्यान्वयनले निर्वाचनमा हुनसक्ने धाँधली तथा कर्मचारीमाथि पर्ने राजनीतिक प्रभावलाई न्यून गर्दै आम मतदाताको विश्वास अभिवृद्धि हुने आयोगका एक अधिकारीले बताएका छन्।






सम्बन्धित खवर















