
पोखरा — भविष्यमा केवलकार सञ्चालनका क्रममा आईपर्न सक्ने सम्भावित दुर्घटना तथा आकस्मिक अवस्थालाई मध्यनजर गर्दै अन्नपूर्ण केवलकार लिमिटेडले सशस्त्र प्रहरी बल मालेपाटनको सहयोगमा आज पोखरा महानगरपालिका–१८, सराङकोटमा आपतकालीन उद्दार तालिमको प्रदर्शन गरेको छ।
तालिममा केवलकार यात्रा गर्दा कुनै पनि समयमा विद्युतीय कारणले सेवा अवरुद्ध भएमा तुरुन्तै वैकल्पिक ऊर्जा जेनेरेटर सञ्चालन गरी सेवा सुचारु गर्ने प्रक्रिया तथा अन्य कारणले केवलकार रोकिन गएको अवस्थामा यात्रुहरूलाई सुरक्षित तरिकाले क्याबिनबाट उद्दार गर्ने अभ्यास प्रदर्शन गरिएको थियो। यसबाट यात्रुहरूलाई आकस्मिक अवस्थामा पनि सकुशल उद्दार गर्न सकिने स्पष्ट सन्देश दिइएको छ।

आयोजकका अनुसार यस्ता अभ्यासले केवलकार चढ्ने यात्रुहरूमा सुरक्षा सम्बन्धी विश्वास बढ्ने अपेक्षा गरिएको छ। “यात्रुहरूको सुरक्षा नै हाम्रो प्रमुख जिम्मेवारी र चुनौती हो,” निर्देशक दिनेश पौडेलले भने, “त्यही हेक्का राखेर यस्तो आपतकालीन उद्दार तालिमको आयोजना गरिएको हो।”
उद्दार तालिममा सशस्त्र प्रहरी बलका दक्ष तथा तालिमप्राप्त कर्मचारीहरूद्वारा गरिएको अभ्यासले केवलकार सेवा अझ सुरक्षित रहेको अनुभूति दिलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। अन्नपूर्ण केवलकार लिमिटेडले आगामी दिनहरूमा पनि यात्रु सुरक्षालाई प्राथमिकतामा राखी यस्ता अभ्यासहरू निरन्तर गर्ने जनाएको छ।






सम्बन्धित खवर














