8Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै आसन्न निर्वाचनमा कांग्रेस एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

माघ १ गते जारी वक्तव्यमा नेता कोइरालाले पार्टी एकतामा आएको अवरोधका लागि कसलाई दोषी र कसलाई निर्दोष भन्ने बहसले राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउने भन्दै आफू त्यसतर्फ नलाग्ने स्पष्ट पारेका छन्। उनले पार्टीभित्र देखिएका र नदेखिएका अन्तरविरोध, राजधानीमा बुन्निएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्र र कांग्रेसलाई कमजोर पार्न चाहने शक्तिहरूको स्वार्थ रोक्न नसकिएको उल्लेख गरेका छन्।

“कांग्रेस एक भएर निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको इमानदार प्रयास थियो, तर त्यसो हुन सकेन,” उनले भनेका छन्। यस्तो कठिन घडीमा कांग्रेसले महामानव नेता विपी कोइरालालाई स्मरण गर्नुपर्ने उनले बताएका छन्। विपी कोइरालाले जीवनको बाजी लगाएर लोकतन्त्रको संघर्षमा लाग्ने लाखौँ कार्यकर्ताको साथ पाए पनि केही व्यक्ति र समूहले साथ छाडेको प्रसंग उल्लेख गर्दै नेता कोइरालाले त्यसलाई विपीले ‘नियतिको खेल’ भनेको स्मरण गराएका छन्।

नेता कोइरालाले कांग्रेस एकढिक्का भएर अघि बढ्न नसक्नुलाई पनि नियतिको कठोर सत्यका रूपमा बुझेको बताएका छन्। तर, अब आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउँदै आसन्न निर्वाचनमा जनतामाझ जाने जिम्मेवारी पार्टी सामु रहेको उनले उल्लेख गरेका छन्।

उनले संगठनात्मक ऊर्जा प्रस्फुटन भएर मात्र इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सकिने भन्दै सम्पूर्ण कांग्रेस एकताको खाँचो अपरिहार्य भएको बताए। “कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहास, साझा नेता र शहिदहरू छन्,” उनले भनेका छन्।

नेता कोइरालाले पार्टी विभाजनका बाबजुद नेपाली जनताले विगतमा कांग्रेसप्रति गरेको भरोसा प्रभावित नबनाएको उल्लेख गर्दै शहिदहरूको बलिदान सम्झेर जनताको घरदैलोमा भोट माग्न जानुपर्ने समय आएको बताएका छन्। समय छोटो भए पनि आफू सकेसम्म चुनावी अभियानका क्रममा कार्यकर्ताको घरआँगनमा पुग्ने प्रयास गर्ने उनको भनाइ छ।

पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने उल्लेख गर्दै उनले सबैलाई “घर फर्कन, कांग्रेसमा फर्कन” आह्वान गरेका छन्। “यहाँ जीत–हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ,” वक्तव्यको अन्त्यमा उनले भनेका छन्।

नेता कोइरालाले वक्तव्यको अन्त्यमा ‘जय नेपाल’ भन्दै पार्टी एकता र लोकतान्त्रिक संघर्षप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected