
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की क्षेत्र नम्बर–२ बाट उम्मेदवारका रूपमा उत्तम पौडेललाई अगाडि बढाएको छ। पार्टीलाई कास्की जिल्लामा, विशेषतः पोखरा केन्द्रित रूपमा संगठनात्मक रूपमा मजबुत बनाउने अभियानमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका पौडेललाई उक्त जिम्मेवारी दिइएको हो।
रास्वपाको दीर्घकालीन संगठन विस्तार रणनीतिअन्तर्गत सदस्यता अभियान, संगठन निर्माण तथा स्थानीय तहसम्म पार्टीको पहुँच विस्तारमा निरन्तर सक्रिय रहेकाले पौडेललाई टिकट प्रदान गरिएको हो। पार्टी गठनको प्रारम्भिक चरणदेखि नै उनले कास्कीमा संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका छन्।
सञ्चारकर्मी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका पौडेलले पत्रकारिताकै क्रममा पार्टी सभापति रवि लामिछानेसँग निकट रूपमा काम गरेका थिए। रास्वपाको वैचारिक धार, संगठनात्मक रणनीति र जनसम्पर्क अभियानमा उनको सक्रिय संलग्नताले पार्टी नेतृत्वको विश्वास जित्न सफल भएको बताइन्छ।
कास्की, विशेषतः पोखरामा रास्वपालाई नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित गर्न पौडेलले खेलेको भूमिकाको मूल्यांकन गर्दै पार्टीले उनलाई क्षेत्र नम्बर–२ को उम्मेदवार बनाएको हो। संगठन निर्माणमा देखाएको निरन्तरता, स्थानीय स्तरमा जनसमर्थन विस्तारको प्रयास तथा नेतृत्वसँगको समन्वयलाई उनको उम्मेदवारीको मुख्य आधार मानिएको छ।
यसैबीच, कास्की क्षेत्र नम्बर–१ मा गणेश पौडेलको उम्मेदवारीको चर्चा छ भने क्षेत्र नम्बर–३ मा जिल्ला सभापति यदुनाथ अधिकारीसहित अन्य नेताहरूको नाम चर्चामा रहेको छ।









