2Shares

पोखरा। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले आज प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी पूरा गरेका छन्।

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्की जिल्लामा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयहरूमा एकसाथ पुगेर उम्मेदवारी दर्ता गर्ने तयारीका साथ दलहरूले सार्वजनिक सूचना जारी गर्दै आन्तरिक तयारी तीव्र पारेका हुन्। उम्मेदवार छनोटका लागि दलहरूले सोमबार दिनभर आन्तरिक छलफल गरी उम्मेदवारी टुंगो लगाएका छन्।

दलहरूले कास्की निर्वाचन क्षेत्र नं १ का लागि पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्र, रामघाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन्। त्यस्तै, क्षेत्र नं २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, ड्यामसाइडमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तथा क्षेत्र नं ३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ।

निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनका अनुसार राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गर्न आउने समयसमेत निर्वाचन कार्यालयलाई जानकारी गराइसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान १०:०० देखि ११:०० बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो १:०० बजे उम्मेदवारी दर्ता गर्ने जानकारी गराएको छ। त्यस्तै, नेकपा (एमाले) ले दिउँसो १:०० देखि २:०० बजेसम्म र  नेपाली कांग्रेसले ३.०० बजे उम्मेदवारी दर्ता गर्न आउने जनाएको छ। अन्य दलबाट समेत समयबारे जानकारी आउने क्रममा रहेको सूचना अधिकारी न्यौपानेले बताए।

जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ। कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन्। जसअनुसार कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ तथा क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेका छन्।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected