
देउवाले निर्वाचन नलड्ने निर्णय गरेपछि उक्त क्षेत्रको उम्मेदवारी महरलाई सुम्पिएको पार्टी स्रोतले जनाएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गरेसँगै डडेलधुरा निर्वाचन क्षेत्रमा नयाँ अनुहार अघि सारिएको छ। काँग्रेसले सो क्षेत्रबाट नैनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
काँग्रेस सभापति गगन थापाले डडेलधुराका लागि निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएका हुन्। देउवाले निर्वाचन नलड्ने निर्णय गरेपछि उक्त क्षेत्रको उम्मेदवारी महरलाई सुम्पिएको पार्टी स्रोतले जनाएको छ।
पूर्वप्रधानमन्त्री देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका हुन्। यससँगै २०४८ सालदेखि सुरु भएको उनको करिब ३४ वर्ष लामो अविरल संसदीय यात्रामा औपचारिक ‘ब्रेक’ लागेको छ।
सोमबार देउवाको सचिवालयले उनी आगामी निर्वाचनमा सहभागी नहुने जानकारी दिएको हो। डडेलधुराबाट सात पटक लगातार निर्वाचित देउवा पाँच पटक प्रधानमन्त्री बनेका छन्। उनी २०४८ सालमा पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने २०५२, २०५८, २०७४ र २०७८ सालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
संविधानसभा हुँदै प्रतिनिधि सभासम्म निरन्तर सक्रिय देउवा नेपाली राजनीतिका सबैभन्दा अनुभवी नेतामध्ये एक मानिन्छन्। काँग्रेसभित्रको आन्तरिक विवाद, नेतृत्व परिवर्तन र टिकट वितरणको जटिल समीकरणका बीच देउवाले चुनाव नलड्ने निर्णय लिएको बताइन्छ। यस पटक उनकी पत्नी आरजु देउवालाई पनि पार्टीले टिकट दिएको छैन।
निर्वाचनमा सहभागी नहुने निर्णयसँगै देउवाको पुनः प्रधानमन्त्री बन्ने सम्भावनामा समेत पूर्णविराम लागेको छ।






सम्बन्धित खवर
















