टाइगर कप : लगातार तेस्रो हारसँगै महिला आर्मी फाइनल दौडबाट बाहिर, पुरुषतर्फ एपीएफ र गण्डकीको प्रभावशाली जित
- January 26, 2026
- 1089

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लब लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार बिहान भएको खेलमा आर्मी सशस्त्र प्रहरी बल (एपीएफ) सँग ३–० को सोझो सेटमा पराजित भयो। एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्यो।
यसअघि आर्मी पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। अब आर्मीले समूह चरणको अन्तिम खेलमा मंगलबार थाइल्याण्ड क्विन्ससँग प्रतिस्पर्धा गर्नेछ।
महिलातर्फ पहिलो खेलमा थाइल्याण्ड क्विन्सलाई पाँच सेटमा पराजित गरेको एपीएफ दोस्रो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो।

यसैदिन पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसिएसनमाथि सहज जित निकालेको छ। एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले जित हात पार्यो। एपीएफको यो च्याम्पियनसिपमा दोस्रो जित हो भने माल्दिभ्सले लगातार तेस्रो हार बेहोर्यो।
सोमबारकै तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीले पहिलो र तेस्रो सेट समान ३३–३१ ले जित्दा दोस्रो सेटमा आर्मी २५–१५ ले हाबी भयो। चौथो सेटमा गण्डकीले २५–१९ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो। यो जितसँगै गण्डकीले च्याम्पियनसिपमा दोस्रो जित दर्ता गराएको छ।

च्याम्पियनसिपअन्तर्गत मंगलबार चार खेल हुनेछन्। तालिकाअनुसार बिहान साढे ८ बजे महिलातर्फ आर्मी र थाइल्याण्ड क्विन्स भिड्नेछन्। त्यसपछि महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स तथा गण्डकी र नेपाल पुलिस क्लबबीच खेल हुनेछन्।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।




























