12Shares

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियानलाई तीव्र बनाएको छ। सोही अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ३० को खुदी र वडा नम्बर ३१ को मोहरियामा दुईवटा सम्पर्क कार्यालय स्थापना गरिएको छ।

बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममार्फत सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो। सूचना, सञ्चार तथा आइटी समितिका संयोजक नवीन सिग्देलका अनुसार मतदाता र कार्यकर्ताबीच प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्यले कार्यालयहरू स्थापना गरिएको हो।

दुवै स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिलकबहादुर रानाभाटले मुलुकलाई विद्यमान संकटबाट मुक्त गर्न नेपाली कांग्रेसलाई बहुमत आवश्यक रहेको बताए। उनले आफू देश र जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको आवश्यकता र राष्ट्रिय हितलाई नै आफ्नो प्रमुख प्राथमिकता बनाउने स्पष्ट पारे।

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले कांग्रेसको नेतृत्वमा मात्र देशले निकास र दिगो विकासको बाटो पाउने उल्लेख गरे। उनले लोकतन्त्र, संविधान र समावेशी विकासको रक्षा कांग्रेसबाट मात्रै सम्भव हुने दाबी गरे।

यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले पार्टीभित्रका सबै नेता तथा कार्यकर्ताले आफूलाई नै तिलक रानाभाट ठानेर निर्वाचनमा सक्रियतापूर्वक होमिनुपर्ने बताए। एकताबद्ध प्रयासले मात्र विजय सुनिश्चित हुने उनको भनाइ थियो।

पूर्वमन्त्री तथा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापाले कांग्रेस नै देशको भविष्य भएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका अझै जिम्मेवार र निर्णायक भएको बताए।

नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले पछिल्लो समय सुधारिएको कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गरे। उनले संगठन सुदृढीकरणसँगै जनताका सरोकारका मुद्दामा कांग्रेस गम्भीर भएर लागेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ३० का सभापति धुव्रराज न्यौपाने, वडा नम्बर ३१ का कार्यवाहक सभापति भानुभक्त पौडेल, उपसभापतिहरू डम्मरु बल्लभ चापागाई र वीरबहादुर लामा वाइबा, सचिवहरू रामचन्द्र अधिकारी, श्रीराम कडेल, वीरभद्र कडेल, युवा नेता प्रतापमोहन पौडेललगायतले कांग्रेसको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा धारणा राखेका थिए।

यसैबीच, नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा चुनावी अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सुरु भइसकेको जानकारी दिए। उनले घरदैलो, सम्पर्क कार्यालय सञ्चालन र जनसंवाद कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected