2Shares

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) र थाइल्याण्ड क्विन्सबीचको समीकरण पुलिसको पक्षमा जाँदा पुलिसले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको दिनको पहिलो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित्दै शानदार प्रदर्शन गरेको हो । खेलमा पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच घोषित भइन् ।

यस जितसँगै ४ खेलबाट ७ अंक जोडेको पुलिस दोस्रो स्थानमा उक्लिएको थियो भने एपीएफ ५ अंकमै सीमित रहँदै उपाधि दौडबाट बाहिरियो । यसअघि नै ३ खेलबाट ९ अंकसहित न्यू डायमण्ड स्पोट्स क्लब फाइनलमा पुगिसकेको थियो ।

दिनको दोस्रो खेलमा न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई पनि ३–० को सोझो सेटमा पराजित गर्‍यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै अपराजित यात्रा कायम राख्यो ।

थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७ अंक जोडेको नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गर्न सफल भयो । थाइल्याण्डले ६ अंकमा प्रतियोगिता समाप्त गरेको छ । अब महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् भने तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र एपीएफ आमनेसामने हुनेछन् ।

पुरुषतर्फ आज दुई खेल हुनेछन् । पहिलो खेलमा नेपाल पुलिस क्लब र एपीएफ भिड्नेछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविन प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । महिलातर्फको फाइनल माघ १६ गते र पुरुषतर्फको फाइनल माघ १७ गते हुने तय छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected