3Shares

वालिङ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा बुधबारदेखि नवौं संस्करणको वालिङ महोत्सव सुरु भएको छ । वालिङ–स्थित मालेबगर खेल मैदानमा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय यस महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् ।

‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नारासहित सञ्चालनमा आएको महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार र आर्थिक चलायमानतामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा बोल्दै महासंघका अध्यक्ष ढकालले यस्ता महोत्सवहरूले स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाको बजार सुनिश्चित गर्न मद्दत पुग्ने बताए । उनले कृषक, साना तथा घरेलु उद्यमी र व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै महोत्सवले रोजगारी सिर्जना र क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउन टेवा दिने विश्वास व्यक्त गरे ।

महोत्सवमा कृषि, हस्तकला, सेवा, औद्योगिक तथा व्यापारिक क्षेत्रसँग सम्बन्धित विभिन्न स्टलहरू राखिएका छन् । कृषि उपज, कृषि औजार तथा हस्तकलासम्बन्धी ४० भन्दा बढी स्टल निःशुल्क उपलब्ध गराइएको छ भने स्थानीय व्यापारीहरूलाई स्टल शुल्कमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष चेतनारायण श्रेष्ठले स्थानीय उत्पादन र उद्यमलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिएको बताए । “स्थानीय कृषक र उद्यमीलाई प्रत्यक्ष बजार उपलब्ध गराउने उद्देश्यले निःशुल्क र छुटसहितका स्टल व्यवस्था गरिएको हो,” उनले भने ।

संघका सचिव तथा महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनालका अनुसार महोत्सवबाट करिब एक करोड ६८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सव सञ्चालनका लागि एक करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च हुने र करिब ५३ लाख ४९ हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

आयोजकका अनुसार नवौं वालिङ महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको अल्पकालीन कारोबार हुने र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवलाई गण्डकी प्रदेशकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित गर्न यसपटक पनि विविध कार्यक्रमहरू समावेश गरिएको जनाइएको छ ।

महोत्सवमा व्यापारिक स्टलका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, लोकदोहोरी, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन् । यसले दर्शकलाई व्यापारसँगै मनोरञ्जनको अवसरसमेत प्रदान गर्ने आयोजकको भनाइ छ ।

नवौं संस्करणको वालिङ महोत्सव माघ २५ गतेसम्म अर्थात् १२ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected