
पोखरा । पोखरा फाइनान्स लिमिटेडको २८औं तथा २९औं वार्षिक साधारण सभा बुधबार पोखरास्थित दरबारथोक बैन्क्वेटमा सम्पन्न भएको छ। साधारण सभामा संस्थाका अध्यक्ष राजकुमार गुरुङले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

त्यसैगरी, साधारण सभाले समृद्धि फाइनान्ससँग बराबरी सेयर अनुपातमा गाभिने (मर्जर) प्रस्ताव पनि अनुमोदन गरेको छ। यसअघि गत साउन महिनामा पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
मर्जर प्रक्रिया अघि बढाउन दुवै संस्थाको संयुक्त मर्जर समितिले सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गरेको थियो। मूल्यांकनकर्ताले तयार पारेको प्रतिवेदन साधारण सभामा पेश भई पारित गरिएको हो।
साधारण सभाबाट प्रस्ताव अनुमोदन भएसँगै दुवै वित्तीय संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन्। नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुवै संस्था गाभिएर ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा कारोबार सुरु गर्ने जनाइएको छ।






सम्बन्धित खवर
















