14Shares

पोखरा। त्रिभुवन आर्मी क्लबले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा रोमाञ्चक जित निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज भएको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–२ सेटले पराजित गरेको हो।

पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफसँग गुमायो। चौथो सेटमा आर्मीले २५–१७ को जित निकाल्दै खेल पाँचौँ सेटमा पुर्‍याएको थियो। निर्णायक पाँचौँ सेटमा १८–१६ को संघर्षपूर्ण जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो।

यो जितसँगै आर्मी र एपीएफ दुवैले समान ७ अंक जोडेका छन्। सेट अनुपातमा अघि रहेकाले आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

यसअघि पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। उक्त जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ।

महिलातर्फ आजै भएको खेलमा थाइल्याण्ड क्विन्सले सशस्त्र प्रहरी बल (एपीएफ)लाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानसँगै थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

च्याम्पियनसिपअन्तर्गत भोलि शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच बिहान ११ बजे सुरु हुनेछ। त्यसपछि पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच दिउँसो १ बजेबाट हुनेछ। उक्त खेलबाट पुरुषतर्फ फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ।

हालसम्म ५ खेलबाट नेपाल पुलिस क्लबले १० अंक जोडेको छ। समान ४ खेल खेलेका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको ९–९ अंक छ। शुक्रबार हुने आपसी खेलमा कुनै एक टोलीले सिधै ३ अंकसहित जित निकालेमा सो टोली र पुलिस क्लब फाइनलमा प्रवेश गर्नेछन्। खेल पाँचौँ सेटमा पुगेमा भने सेट अनुपातका आधारमा फाइनलिस्ट तय हुनेछ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ तथा महिलातर्फ ५ टोली सहभागी छन्।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected