कास्की–३ मा कांग्रेसको ‘ग्राउन्ड अट्याक’ : ८००१ सदस्यीय मूल समिति, २४ उपसमिति र घरदैलो अभियान एकसाथ
- January 30, 2026
- 216

पोखरा । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ ले संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै ‘ग्राउन्ड अट्याक’ सुरु गरेको छ। शुक्रबार पोखरा महानगरपालिका–२ स्थित बिन्धवासिनीमा क्षेत्रीय निर्वाचन कार्यालय उद्घाटनसँगै कांग्रेसले घरदैलो अभियान, मतदाता शिक्षा र संगठन विस्तारलाई तीव्र बनाएको हो।
प्रत्यक्षतर्फका उम्मेदवार मनोज गुरुङ र समानुपातिकतर्फका उम्मेदवार आई. बहादुर गुरुङलाई विजयी गराउने लक्ष्यसहित कांग्रेसले ८००१ सदस्यीय निर्वाचन मूल आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर रहेका छन्।
मूल समितिको संरचना
समितिको सहसंयोजकमा खेमलाल बास्तोला र विष्णुबहादुर क्षेत्री, सचिवमा लक्ष्मीप्रसाद पौडेल र मेख तामाङ, कोषाध्यक्षमा मनपति भण्डारी तथा सह–कोषाध्यक्षमा खेमलाल पहारी तोकिएका छन्। सहसचिवमा आइंदल गुरुङ र सितल अधिकारी तथा प्रवक्तामा महेश तिमिल्सिना छन्।
२४ उपसमितिसहित माइक्रो–म्यानेजमेन्ट
चुनावी अभियानलाई प्रभावकारी बनाउन मूल समितिअन्तर्गत २४ वटा उपसमिति गठन गरिएको छ। घोषणा–पत्र निर्माण, मिडिया परिचालन, अनुगमन, शिक्षक–प्राध्यापक तथा बुद्धिजीवी परिचालन, यातायात व्यवस्थापन, तरुण–युवा तथा विद्यार्थी परिचालन, मतदान शिक्षा, महिला परिचालन, मतदाता समन्वय, अर्थ संकलन, सांस्कृतिक तथा स्वयंसेवक परिचालन, कानुनी परामर्श, निवृत्त कर्मचारी, पर्यटन व्यवसायी, आदिवासी जनजाति महासंघ, भूपू सैनिक, दलित–अल्पसंख्यक तथा संघ–संस्था समन्वय समिति सक्रिय बनाइएका छन्।
नयाँ पुस्तालाई लक्षित गर्दै Gen-Z संयोजकसमेत तोकिएको छ।
एकता र अनुशासनमा जोड

कार्यालय उद्घाटन समारोहमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले चुनावी सफलता पार्टीको एकता, अनुशासन र सक्रियतामा निर्भर रहने बताए। उनले कास्की–३ मा कांग्रेसले पुर्याएको योगदान स्मरण गर्दै प्रजातन्त्र, संविधान रक्षा र विकासका लागि कांग्रेस उम्मेदवारलाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
“२०५६ सालको ऐतिहासिक जित दोहोर्याउन घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद आवश्यक छ,”
— शुक्रराज शर्मा, सभापति, कांग्रेस गण्डकी
नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णबहादुर केसीले कांग्रेस बदलिएको सन्देश जनतामाझ पुर्याउनुपर्ने बताए।
उम्मेदवारको सन्देश

उम्मेदवारद्वय मनोज गुरुङ र आई. बहादुर गुरुङले पार्टी एकतामै बल रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई सक्रिय रूपमा चुनावी प्रचारमा जुट्न आह्वान गरे।
निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, महासमिति सदस्य सिता गुरुङलगायत वक्ताहरूले संगठन बलियो बनाएर मतदाताको मन जित्नुपर्नेमा जोड दिएका थिए।
घरदैलो र मतदाता शिक्षा केन्द्रमा
चुनाव परिचालन समितिले घरदैलो अभियान, मतदाता शिक्षा, लक्षित प्रचार–प्रसार र संगठन विस्तारलाई मुख्य रणनीति बनाउँदै कास्की–३ मा कांग्रेसको जित सुनिश्चित हुने दाबी गरेको छ।






सम्बन्धित खवर
















