टाइगर कप भलिबल: महिलातर्फ न्यू डायमण्ड च्याम्पियन, पुरुषतर्फ गण्डकी–पर्वत फाइनल भिडन्त
- January 30, 2026
- 927

पोखरा ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको छ भने पुरुषतर्फ गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ उपाधिका लागि फाइनलमा भिड्ने भएका छन्।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न महिलातर्फको फाइनल खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो। उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो भने तेस्रो स्थानमा रहेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो।
न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले २६ हजार ६६६ रुपैयाँ पुरस्कार पाइन्। यस्तै, सर्भरतर्फ प्रतिभा माली, लिविरोतर्फ शान्तिकला तामाङ, सेटरतर्फ प्रगती नाथ, ब्लकरतर्फ सुनिता खत्री, स्पाइकरतर्फ पथैया र प्रशिक्षकतर्फ कुमार राई विधागत उत्कृष्ट घोषित भए। उनीहरूले जनही ११ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरे।
पुरुषतर्फ भने शुक्रबार समूह चरणको अन्तिम खेल पाँचौं सेटसम्म पुगेपछि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ दुवैले फाइनल यात्रा तय गरेका हुन्। खेलमा गण्डकीले पहिलो सेट २५–२१ ले जिते पनि दोस्रो सेट २२–२५ ले गुमायो। तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो। पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक जोड्यो भने पराजित पर्वतले १ अंक प्राप्त गर्यो।
समूह चरणको अन्त्यमा गण्डकी ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गर्यो भने पर्वत १० अंकसहित दोस्रो स्थानमा रह्यो। समान १० अंक भए पनि सेट अनुपातका आधारमा नेपाल पुलिस क्लब तेस्रो स्थानमा सीमित भयो। त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल (एपीएफ) पाँचौं र माल्दिभ्स भलिबल एसोसिएसन छैटौं स्थानमा रहे।

अब पुरुषतर्फको फाइनल खेल शनिबार दिउँसो २ बजे गण्डकी र पर्वतबीच हुनेछ। त्यसअघि बिहान ११ बजे तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेताले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको थियो।







सम्बन्धित खवर















