ROCKHEADS को लाइभ कन्सर्टले तातेको वालिङ महोत्सव : तेस्रो दिन दर्शकको अभूतपूर्व भीड
- January 30, 2026
- 117

वालिङ १६ माघ । नवौँ वालिङ महोत्सवको तेस्रो दिन आज महोत्सव स्थल दर्शकले खचाखच भरिएको छ। लोकप्रिय ROCKHEADS व्याण्डको लाइभ कन्सर्ट रहने भएपछि महोत्सवतर्फ दर्शकको आकर्षण झनै बढेको हो।
महोत्सवका प्रचार–प्रसार संयोजक सुशील खनालका अनुसार तेस्रो दिनको विशेष आकर्षणका रूपमा ROCKHEADS व्याण्डको प्रस्तुति आयोजना गरिएकाले उल्लेख्य दर्शक उपस्थिति देखिएको छ। उनका अनुसार महोत्सवले स्थानीयदेखि बाहिरी क्षेत्रका दर्शकलाई समेत आकर्षित गर्न सफल भएको छ।

महोत्सवमा हाल करिब ४ सय वटा स्टलहरू सञ्चालनमा छन्। ती स्टलहरूमा कृषि तथा हस्तकला, सेवा, औद्योगिक तथा व्यापारिक सामग्रीहरूको प्रदर्शनी र बिक्री भइरहेको छ।
आयोजकका अनुसार महोत्सवबाट १ करोड ६८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने १ करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च भई करिब ५३ लाख ४९ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ।
वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष खगुपती न्यौपानेका अनुसार १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शक सहभागी हुने र १० करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सवको संरक्षक संस्थाका रूपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने नेपाल पर्यटन बोर्ड प्रवर्द्धक संस्थाका रूपमा रहेको छ।
महोत्सवअन्तर्गत औद्योगिक तथा व्यापार मेला, सांस्कृतिक कार्यक्रम, भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला, ताजा तरकारी, अर्गानिक कफी प्रदर्शनी, बाल उद्यान तथा विविध हस्तकलाका सामग्रीहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।
महोत्सव अवलोकनका लागि विद्यार्थीका लागि ७० रुपैयाँ र अन्य दर्शकका लागि १०० रुपैयाँ टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ।






सम्बन्धित खवर















